दिपक थापाको कविता: लवज हराएको कोलाहल

  अस्मिता स्मृति प्रकाशित मिति :  753 पटक हेरिएको

जाडो याममा
बुढो करङमा झुल्किने पारिलो घाम ताप्दै
समय रेखा यतिखेर तमाशा हेरिरहेको छ
कुनै नव आगन्तुक पाहुनालाई
निर्वाशित गरिसकेको हुनेछ

यो शून्य समय हो
तर सबै सुन्यतामा बाचेका हुन्छ्न भन्ने पनि होइन !

तिम्रो ज्यामिती खोइ ?
यो मानव कङ्कालमा कहाँ खोज्नु तिमीलाई
घर कहाँ छ यो भग्नावशेषमा कसरी पहिचान गरौ !

तिम्रो जङ्गारमा फूलेको हो सुनाखरी
समयको बल्छि थापेर निकालेकै हो
संवेदनाको महासागरबाट
फूलहरु पनि विभाजित भएकै हुन
जब क्रान्तिलाई परिभाषित गर्न थालियो
हुन सक्छ तिमी बढिनै क्रान्तिकारी थियौ वा
म तिम्रो परिभाषा भित्र समेटिन नसकेको हु !
इतिहासले पनि दावी गरेन तिमीसँग
मसँगै हिसाब मागिरहेछ
म पनि बेखबर बाचेको होइन !
बेखबर बाच्नेहरुको खबर पनि कहिल्यै सोधिन मैले
साझा थियो गन्तव्य हुनसक्छ
तिमी सबैलाइ हसाउन उत्साहित थियौ !
तिम्रा लागि
मनहरु नजिक थिए!

म सम्झन्छु जिन्दगी तिमीलाई !!
तिमी तुइनमा झुन्डिदा मैले तानिरहेकै हुँ घिर्नी
बजारिन खोज्दा
विछ्याइएको हुँ
भुइमा सपनाको कोमल हृदय
मलाइ अफसोच छ
किन हामीले मानाएनौं जीवनको उत्सव
आत्मघाती भएन कहिल्यै आत्मा

तिमी मेरो मनको आवाज
म तिम्रो साहारा
बनाएनौ वैशाखी
मलाइ कहाँबाट उक्सायौं
सक्दिनँ दाबी गर्न हरेक दिन
कहाँबाट बटुल्यौ प्रेरणाको स्रोत
निस्फिक्री बाडिरहेकै थियौं समर्पण


थोपा – थोपामा मात्र होइन
सुन्यता भित्र पनि खोजिरहेको हुन्छु जीवन
आदर्श मात्र थिएन
तथापी मैले बाचेकै हुँ यथार्थको पिरामिड
म सम्झन्छु हरेक पल
के तिमीले मलाइ सम्झिएका छौ ।

दिपक थापा
अरुण गाउँपालिका ७ मैदाने भोजपुर

तपाईको प्रतिक्रिया