यज्ञराज उपाध्यायको कविता: दृष्टान्त यात्री ( छन्द-शार्दूलविक्रीडित )

प्रकाशित मिति :  468 पटक हेरिएको

वैज्ञानीक र वैद्य डाक्टर कवी सर्वज्ञ मैँ हुँ भनी ।
ब्रह्मा , विष्णु , महेश्वरै भुवनका जम्मै बने छन् उनी ।।
आफ्नै कुर्सी बचाउने लहडमा चिन्ता छ त्यै पाँउन ।
यस्ताे सङ्कटमा पनी मनुजका आँसू खसेनन् किन ?

नाङ्गाे आँग छ , बास छैन कतिकाे के खाँउ भन्छन् अरे !
पैराे , बाढि पिडीतकाे , गरिबकाे चूलाे निभेकाे छ रे !
मील्याे लाैन मिलेन मै समय त्याे दाेहाेरि खेल्दै गयाे ।
फुर्ती मात्र सधै यि कुर्सिजिविकाे ऊदेकलाग्दाे भयाे ।।

कुर्सीकै झगडा निरन्तर सधैँ बल्झिन्छ जैले पनि ।
वार्ता देश बनाउने विषयकाे हुँदैन कैले पनि ।।
आफ्नै स्वार्थ र लाेभ माेह पदमा लिप्तै भएछन् सब ।
हूने हाे कहिले र के गरि यहाँ आर्थीक क्रान्ती अब ।।

भ्रष्टाचार बढेर शीखर चुम्याे लुट्तन्त्रकै आडमा ।
आफ्नै हालिमुहालि स्वार्थजिविकाे गुट्तन्त्रकै लाडमा ।।
खल्तीजीवि र बुद्धिजीवि पदका आसक्त छन् आसक ।
सानाे वीधि भएछ याे मुलुकमा ठूला भए शासक ।।

दाेस्राेकाे गरिमा पुग्याे क्षितिजमा दृष्टान्त यात्री बनी ।
एकाकार भएन , मस्त निदमा ब्यूझेन ऐले पनि ।।
माैलाएछ दलालि देशभरि नै लाग्दैन कत्ती धक ।
बाँचाैँला कहिले सुखानुभुतिले सानन्दतापूर्वक ।।

तपाईको प्रतिक्रिया