टीका चाम्लिङको कविता : आफ्नै बिरूद्धमा मान्छे

  अस्मिता स्मृति प्रकाशित मिति :  310 पटक हेरिएको

उत्पत्तिदेखि झुल्किरहेछ घाम
आफ्नै बाटो, गति, समय, ताप र प्रकाशमा

उसरी नै मुस्कुराइरहेछ जून
आफ्नै लय, शीतलता र सुन्दरतामा

त्यसरी नै घुमिरहेछ पृथ्वी
आफ्नै जीवन, परिधि र अस्तित्वमा

उसरी नै अडिरहेछ समुद्र
आफ्नै रङ, गहिराई र सीमानामा

त्यसरी नै फैलिरहेछ आकाश
आफ्नै स्वतन्त्रता, निलिमा र विशालतामा

बितेर गए करोडौँ वर्ष
तर,
बोलेनन् कसैले कसैमाथि धावा
गरेनन् कसैले कसैमाथि दावा
र, आजसम्म
घाम घाम भएरै झुल्किरहेछ
जून जून भएरै मुस्कुराइरहेछ
पृथ्वी पृथ्वी भएरै घुमिरहेछ
समुद्र समुद्र भएरै गहिरिरहेछ
आकाश आकाश भएरै फैलिरहेछ
अफसोच ! यी सबैको उपज हामी
सबै-सबै हुन खोजिरह्यौँ
सबै-सबै छुन खोजिरह्यौँ
र, हरायौँ आफ्नो बाटो र गति
छुटायौँ आफ्नो समय, लय र धरातल
बिर्स्यौँ जीवनको अर्थ
हुर्कायौँ भयानक जङ्गल
र, पालिरहेछौँ आफैभित्र
मानिसको रूपमा मात्रै हिंस्रक जनावर ।

तपाईको प्रतिक्रिया