तिलक थापाको कविता : खै कहाँ छ न्याय ?

  अस्मिता स्मृति प्रकाशित मिति :  430 पटक हेरिएको

उता न्यायका चालकहरु
कुनै मन्दिरको पूजारीझैं शिर झुकाएर
गरिरहेछन् शक्तिको पूजा !
यता अपराधले नाघिसकेको छ सीमा
कतै हत्या त कतै बलात्कार
कतै हिंसा त कतै एसिड प्रहार
र त न्याय सुतिरहेको छ लम्पसार
चुपचाप…चुपचाप…!

खै कहाँ छ न्याय ?

न्यायका लागि मच्चाइन्छन् बन्द, हड्ताल र कोलाहल
जलाइन्छन् न्यायकै खातिर अखबारका पानाहरु
बारम्बार,
लगाइन्छन् नारा न्यायकै लागि
निकालिन्छन् जुलुस न्यायकै लागि
तर न्याय सुतिरहेको छ लम्पसार
चुपचाप…चुपचाप…!

तर, मेरो सरकार
दरबारको आँखिझ्यालबाट
अर्ध निद्रामा चियाउँछ बाहिरको संसार
र भन्छ- हामी न्याय र समृद्धिको यात्रामा छौं
खै कहाँ छ अन्याय ?
म त सबै हाँसेकै देख्छु
म त सबै नाचेकै देख्छु
खै कहाँ छ अन्याय ?

अधिकारकर्मीहरु सडकमा उत्रीएर
न्यायकै खोजीमा बाल्छन् दिनदहाडै राँकेजुलुस
तर जति बाले पनि राँको
कैल्यै भेटिएन न्यायको उज्यालो
सत्ताको कुर्सिमा
सहमतिमै आउँछन् शासकहरु आलो-पालो
तर कहिल्यै कसैले छर्न सकेनन्
पीडितका आँखामा न्यायको उज्यालो
र त भन्न मन लाग्छ-
खै कहाँ छ न्याय ?

उत्तर सहज छ,
न्याय यसरी सुतिरहेको छ- चुपचाप अनि लम्पसार
जसरी सुतिरहेको छ- यो देशको सरकार पनि !

तिलक थापा
अरुण गाउँपालिका
वडा नं ७ मैदाने, भोजपुर

तपाईको प्रतिक्रिया