प्रज्वल पुकारको कविता: एक मिनेटको मौनधारण

  अस्मिता स्मृति प्रकाशित मिति :  485 पटक हेरिएको

जिन्दगी भरीको आत्मियता
सुख दु:खका पैचो सापटी श्रृङखला
कसरी सबै अटाउन सकिन्छ?
सिर्फ एक मिनेटमा

सम्झनु छ एक मिनेट मौन धारण गरेर
अनि भन्नुछ अलविदा आत्मीय मन
बनाउनु छ खरानी
फिर्नु छ पानीमा बगाएर।

सतीको घर देखि घाट सम्मको यात्रा भन्दा
लामो छ एक मिनेट

फुलमाला गरिसकेको अर्धबेहुलीको
प्रदेशी बेहुलो आउने समय भन्दा टाढा छ
एक मिनेट

एक थोपा गंगाजल पर्खिएर
घिट घिट भएकी आमालाई
बीच बाटामा आईपुगेको छोरो पर्खनु भन्दा
महाकष्ट छ एक मिनेट

कसैलाई हतार छ घर पुग्न
मानौ पृथ्वी सर्दै छ बा घरै पो हराउने हो की

कोही एक मिनेटमा दस पटक आँखा उघार्छ
बा तत्काल आफै अन्धो भएर हेर्न पाउदिन कि जस्तो गरि

कसैले बढो ध्यानी जस्तो भएर
आफ्नै घर व्यवहार सम्झिएकाछन्
भरे घर फिर्नै पाउदिन कि जस्तो गरेर ।

यो एक मिनेट आँखा चिम्लदा
बच्चाहरुले आफ्नो सानो खेल समूह सम्झिए

अविवाहिताले मनका प्रेमी प्रेमिका सम्झिए
नव विवाहिताले पहेलो घाम सम्झिए
केही सम्झन नसक्नेले साझको चिसो चुल्हो सम्झिए

बुढा पाकाहरुले ती छोराछोरी रुएको देख्दा
आफै चिता माथि सुत्दाको दृष्य सम्झिए
समग्रमा यो एक मिनेट
सबैले उसका लागि आफ्नै मौन धारण गरे ।

म पनि उनीहरु बीचकै एक मिनेट
अहो, झट्ट मेरा देशका नेतालाई सम्झिए

हैट
म पनि कस्तो पापी मान्छे
अहिले यहाँ कुनै शासक मरेको त होईन नि
जिउदो भएर पनि मेरो देशले दु:ख पाएको मात्र हो ।।

तपाईको प्रतिक्रिया