रोशन परियारको कविता: “कादसाकी थुङ्गा”

  अस्मिता स्मृति प्रकाशित मिति :  475 पटक हेरिएको

उनी एक कादसाकी थुङ्गा हुन्
पाउले कुल्चिन मिल्ने
शिरले सिउरिन नमिल्ने
रंगहरुको बगैंचामा , कुरुप बनेर फुलिरहेकी
उनी एक कादसाकी थुङ्गा हुन्

क्रान्तिका राँके जुलुसहरुमा आगोको ज्वाला बनेर फुलिन्
सडकका आन्दोलनहरुमा रगतको टाटा बनेर फक्रिइन्
अन्यायका लडाईंहरुमा
खुट्टा काटिंदा पनि टेकिन् , हात काटिंदा पनि समातिन् , आँखा फुट्दा पनि देखिन् , जिब्रो थुत्दा पनि बोलिन्
न्यायको वकम्फुसे हल्ला सुनेर , वेस्वाद मुर्छिरहेकी
उनी एक कादसाकी थुङ्गा हुन्

कानुनको किताबमा चित्रकारले कोरेको चित्र जस्ती छिन् , जसले बोल्न पाउँदैन
संबिधानको धारामा जडिएको नल जस्ती छिन् , जहाँ बाट बग्न मिल्दैन
शासकको दैलोमा उम्रिएको टुसा जस्ती छिन् , जसले हुर्कन हुँदैन
संस्कारको चिहानमा गाडिएको लास जस्ती छिन् , जसले बौरिन मिल्दैन
अधिकारको कलम भित्र , निथ्रिएको मसी जस्ती
उनी एक कादसाकी थुङ्गा हुन्

उनले
विश्वासको विऊ रोपेर पठाएकी हुन् ,मत पेटिकाहरुमा
आशाको बेर्ना उमारेकी हुन् , सदनका रोस्टमहरुमा
गुराँसको लाली मागेकी हुन् , स्वस्तिक छापका ओठहरु पोत्नका लागि
झण्डाको उज्यालो मागेकी हुन् , नङका काला दागहरु छोप्नका लागि
अपसोच !
बारुदको भाषा खाँदेर कानमा , तरबारको हैकम सुनिरहेकी
उनी एक कादसाकी थुङ्गा हुन्

उनलाई
जातको गोमनले डसिरहेको छ
विभेदको अरिङ्गलले टोकीरहेको छ
चौबन्धीको तुनाबाट अमृत चुसेर
जातको विष ओकलिरहेका छन् गोमनहरु
गुन्यूले बारेको कुवामा डुबेर
संस्कारको भ्रम छादीरहेका छन् अरिङ्गलहरु

चौबन्दी भित्र बिच्छु पालेर
गुन्यु भित्र गोही पालेर
तिम्रो बौद्धिकताको बाटो हेर्दै
सुन्दर संभोग पर्खिरहेकी
उनी एक कादसाकी थुङ्गा हुन् ।।

तपाईको प्रतिक्रिया