प्रज्वल पुकारको कविता: तिरस्कृत प्रेमी

  अस्मिता स्मृति प्रकाशित मिति :  919 पटक हेरिएको

खबर आयो होला तिमीलाई पनि
पारी मुर्दाघाटमा सोला चढाई सकेको
एउटा मुर्दा प्रेमी जरुक्क उठ्यो भनेर

अनौठो नमान
त्यो म नै हुँ ।

म अब आए तिम्रो समीप
बिरुप बिद्रोही बनेर

तिमी मेरो आत्मालाई
कठोर फलामे हिरासत भित्र थुन
मेरो यो अराजक प्रेमलाई वध गर्न
दुनियाँ शक्ति संयन्त्र लगाउ

मेरो टाउकाको होईन
मुटुको मूल्य घोषणा गर

मेरो छाती चिरेर निकाल मुटु
फिजाउ भोगटेको पातमा
त्यो तात्तातो मुटु भित्र
पढ्न सक्ने छौ तिमीले
असली प्रेमको परिभाषा

मैले तिमीलाई प्रेम गर्नु
मेरो अपराध हो भने
तिम्रा घृणाका जंजिर हत्कडीले बाधेर
उभ्याउ मलाई कानुनको कठघराका

तिमीलाई लेखेको मेरो प्रेम पत्र
सार्बजनिक अपराध मुद्दाको मिसिल बनोस

गर मलाई अपराधी घोषणा
ठहर्याउ समाजको कलङ्क

म अपराधी प्रेमीको सजाय बोकेर
आजीवन जेल बस्छु
तर थाक्दैन मेरो प्रेम

म धर्ती मुनि पुरिय भने
माटोमा जरा गाडेर उमार्ने छु प्रेम

म ढुङ्गाको खबटाले पुरिए भने
पहेलो दुबो सरी जिउदै बस्ने छ मेरो प्रेम
एक दिन डुङ्गाको काप फुटाएर देखाउने छु
अमर प्रेमको नवपालुवा

म चितामा जलेर खरानी भए भने
उडेर आउने छु
फुल खरानी बनी
अनि बस्छु
तिम्रो खाली सिउदोमा ।

तपाईको प्रतिक्रिया