बि.एन. ढकालको कविता: छोरीसँग संवाद

  अस्मिता स्मृति प्रकाशित मिति :  1167 पटक हेरिएको

छोरी,
यतिखेर म तिम्रो गालामा गाला जोडेर
नियालिरहेको छु तिम्रा एक जोर आँखा
र, आँखाभित्र सल्बलाइरहेका हाम्रा केही थान सपनाहरु !

देवी, लक्ष्मी अथवा सृष्टिकर्ता
दिनलाई जे–जे दिए पनि उपनाम
यो कथित पुरुषप्रधान समाज हो छोरी
यहाँ,
आमाको पेटभित्रै मारिन सक्थ्यौ तिमी पनि
जन्मिनासाथ कतै खोल्सीमा फालिन सक्थ्यौ तिमी पनि
धन्न अलिकतिले बच्यौ र आज
तिमी मुस्कुराउँदा जूनले पनि इर्श्या गर्छ
तिम्रो मुहारको ज्योति देखेर घामले पनि डाह गर्छ

छोरी,
पाउनलाई त पायौ तिमीले यति सुन्दर जीवन
अब बचाउने पो हौ कसरी कालको पन्जाबाट
अब पाइला झिक्ने पो हौ कसरी यो दलदलबाट
म बुझ्छु, तिमीले
कसैको केही नबिगारौली बिगार्न त
कसैको केही नभत्काउली भत्काउन त
तर हेर न,
यो युगका मान्छेहरु त प्रायः बौलाइसकेका छन्
तिमीमाथि जति बेला जे पनि हुन सक्छ
कृपया, सतर्क रहनु !

सब्जी किन्न निस्किँदा कुनै बजारतिर
गल्लिमा भेटिन सक्छन् केही जोर पिपाशु आँखा !
जसबाट बलात्कृत हुनसक्छ खुलेआम– तिम्रो कलिलो यौवन !
कृपया, सतर्क रहनु !

सपिङमा निस्किँदा कुनै महलतिर
युटोपिया वर्ल्डमा हराउन सक्छ कुनै अवचेतन मन
जुनबेला थाहै नपाई
जबर्जस्त बिझाउन सक्छन् तिम्रा गालामा
घुम्ने मेचमा उँघिरहने तिनै घोप्टा जुँगा !
कृपया, सतर्क रहनु !

यौनहिंसा गर्नुहुन्न भन्ने पाठ दिनहुँ घोकाउने
तिम्रो स्कूलको मास्टरले
नोट दिन्छु भन्दै कतै एकान्तमा बोलाएर
सर्टको कलर मिलाइदिने बहानामा
लम्काउन सक्छ हात तिम्रो वक्षस्थलतर्फ
कृपया, विचार गर्नु !

पूजा गर्न निस्किँदा कुनै मन्दिरतिर
मन्दिरको पुजारीले सिकाउन सक्छ तिमीलाई धर्म–अधर्ममा पाठ
र बाँधिदिने बहानामा आशीर्वादको डोरो
मुसार्न सक्छ– तिम्रै कोमल हातहरु !
कृपया, विचार गर्नु !

तिमीलाई तिम्रा साथीहरुको जति विश्वास अरुको नलाग्न सक्छ
तर कुनै वनभोज वा भ्रमण घुम्न जाँदा कतै
तिमी मारिन सक्छौ आफ्नै साथीहरुबाट !
कृपया, हेक्का राख्नु !

हो छोरी,
जताततै अन्याय हुन सक्छ तिमीमाथी
र ढकढकाउन सक्छौ न्यायालयको ढोका
तर फेरि कठघरामा उभ्याएर तिमीलाई
मुद्दा जिताइदिने प्रलोभनमा
उतार्न सक्छ स्वयम् वकिलले तिम्रो फरिया
घुटुक–घुटुक निल्न सक्छ न्यायाधीशले थुक
छोरी, कृपया यो बेला सतर्क मात्रै नरहनु !
बरु यो बेला/यसो गर्नु,,
फुटाइदिनु– ती पिपाशु आँखाहरु !
डढाइदिनु– ती घोप्टा जुँगाहरु !
भाँचिदिनु– ती पापी हातहरु !
च्यातिदिनु– ती विद्वान् ओठहरु !
र, हाँक्नु यो युगलाई सत्मार्गतिर ।

मैले त तिमी मेरो पेटमा आउने बित्तिकै
तिमीलाई यो युगको ड्राइभर सम्झेथें !
छोरी, अब तिमीले नै हाँक्नु यो युगलाई सत्मार्गतिर ।

बि.एन. ढकाल
अरुण गाउँपालिका-५, भोजपुर

तपाईको प्रतिक्रिया