कोरोना सङ्क्रमण अझ बढ्ने मन्त्रालयको आँकलन,नियन्त्रणमा एकजुट हुन आग्रह

प्रकाशित मिति :  230 पटक हेरिएको

सरकारले कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताएका छन्।

उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उनको भनाइ छ । उनले सङ्क्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे ।

प्रवक्ता डा.गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे। सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।

यस्तै, सङ्क्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए । विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया