उपा शंकरको कविता: मेरो अछुत प्रेम

  अस्मिता स्मृति प्रकाशित मिति :  472 पटक हेरिएको

बन्द कोठाभित्र बसेर सम्झिरहेछु
तिम्रा मृग नयनहरु
फेरि अर्कोतर्फ हेरिरहेछु
भेरीमा बगेका अधुरा प्रेमका कहानीहरु
र सडकमा उत्रिएका न्यायप्रेमी जनताका आवाज

प्रेम वासना हो या जीवनको आधार
केही जानिएन
यति जानियो
बस ! `तिमी´ र `म´ बाट `हामी´ हुनुपर्छ
अन्धभक्त भएर लागि परियो `हामी´ हुन

मान्छेले रङ हेरेर जात छुट्याउने समाजमा
हामी पनि छौँ भन्ने बिर्सिएर
दुधमा मिसिएको पानीझैं
लिप्त भइयो एक आपसमा
जवानी चल्छ बिहे चल्दैन भन्ने
बिर्सिएर प्रेमलाई अन्धो बनाइयो

आँखा आँखा पढियो
मनको गहिराइ सम्म पुगेर
भावनाको कदर गरियो एक अर्काको
यति बाधियो कि डोरी प्रेमको
प्रश्न वाचक चिन्ह कतै आएन सम्बन्धमा
तर समाज पढिएनछ

बल्ल म ब्युझिएँ मध्य समाजमा
जब नमराज मरे प्रेमकै खातिर
सम्झिए कतै तिम्रो र मेरो `हामी´ बन्ने
सपनाको ठूलो पहाडले
एक हुल न्यायप्रेमी मेरा समुदायका
अग्रजहरु मेरो नामको न्याय माग्दै
घुम्ने मेचमाथि बसेका अन्धा मान्छेको सामु
लम्पसार पर्नु पर्ने त होइन ?
जसरी आज नवराजका नाममा
लाठी खादैछन् , घोक्रो सुकाउदैछन् !!

तिमी त भन्छौ यस्तो हुदैन
हामी आफ्नै खुट्टामा उभिएका छौँ तर
मैले सम्झिसके तिमीसँग जोडि सकेपछिका
मेरा दिनहरु तिम्रो घरको सङ्घार र संस्कार भन्दा
सधैं बाहिर रहने छन्
समाजभन्दा पर आत्मसम्मान गुमाएर
हामी हुनुभन्दा
मैले गर्भमै मार्ने निर्णय गरे हाम्रो प्रेम
अझै भनौ समाजले भन्ने गरेको
मेरो अछुत प्रेम !!

तपाईको प्रतिक्रिया