श्याम लामा योञ्जनको कविता: हामीले किन नहुने ?

  अस्मिता स्मृति प्रकाशित मिति :  849 पटक हेरिएको

एउटै अगुल्टो जुन
ब्राम्हणको नाकमा झोसिदिएँ- उसलाई पोलेन
त्यही अगुल्टो
दलितको नाकमा झोसिदिएँ- उसलाई पोल्यो
यस्तो भएको भए म भन्थें
आगोले बिभेद गर्नु हुने – हामीले किन नहुने ???

एकै मूलको पानी
ब्राम्हणले छोयो – अमृत बन्यो
त्यही मूलको पानी
दलितले छोयो – विष बन्यो
यस्तो भएको भए म भन्थेँ
पानीले रङ्ग बदल्न हुने – हामीले किन नहुने !!?

एकै दिशाबाट आएको हावाले
पहिला दलितलाई छोयो – ऊ दीर्घायु भयो
अनि ब्राम्हणलाई छोयो- ऊ अल्पायु भयो
अथवा
एकै दिशाबाट आएको हावाले
ब्राम्हाणलाई छोएर गयो – ऊ दीर्घायु भयो
त्यही हावाले दलितलाई नछोइ गयो – ऊ अल्पायु भयो
यस्तो भएको भए म भन्थेँ
हावाले छुत अछुत छुट्ट्याउन हुने – हामीले किन नहुने !! ? ?

एउटै ढुङ्गा
दलितले छिनो हान्यो- मुर्ती बन्यो
मन्दिरमा राखियो -ब्राम्हणले पूजा गर्यो
खुब सुख शान्ती छाईरह्यो
अथवा
त्यही ढुङ्गा
ब्रामहणले छिनो हान्यो- साक्षत भगवान बन्यो
तर दलितले छोयो – दुख कष्ट अनिष्ट आईरह्यो
भगवान रिसायो
यस्तो भएको भए म भन्थेँ
ढुङ्गाले पबित्र अपबित्र निर्धारण गर्न हुने – हामीले किन नहुने ? ? ?!

एउटै जमिन एउटै माटोमा
ब्राम्हणले वीज मात्रै छर्यो – केही गरेन
तर मुरीका मुरी अन्न उब्जियो
अथवा त्यही जमिन त्यही माटोमा
दलितले हलो जोत्यो- कोदालो चलायो- अथाह मेहेनत गर्यो
र पनि एक वीज अन्न उब्जेन- फलेन
यस्तो भएको भए म भन्थेँ
माटोले जात जनाउन हुने – हामीले किन नहुने ? ?
“हामीले किन नहुने ? ?”

तपाईको प्रतिक्रिया