कविता: मरूभूमिमै बिलाए सुरज

  अस्मिता स्मृति प्रकाशित मिति :  498 पटक हेरिएको

अभिशप्त पावन्दीको गल्छेंडोमा
देउराली जस्तै उभिएर
मन अमिलो अनि धमिलो बनाउँदै
बलिन्द्र आँसुका धाराहरू बगाउँदै
भोक र शोकले निलेका बस्तीहरूको
दर्दनाक, वियोगान्त क्षणहरूको
फेरि गर्दैछु एउटा तीतो वर्णन

शासकको आँखामा देखिने
मासिन्या तामाङ परिवार भित्र
सानो झुपडीमा सुरज जन्मिएपछि
सानीआमासँग बाबा अन्तै लागेपछि
परेको हो उनलाई पहिलो बज्रपात
त्यसपछि अकेली आमाको सहारामा
हुर्कीएका थिए हजारौं अभावको बीच
पाएनन कुनै औपचारिक शिक्षा ।

जिन्दगीका खुड्किलाहरूमा संघर्ष गर्दागर्दै
बनाएका थिए मुनामदन जस्तै सुन्दर जोडी
अनायास आमाको देहान्त भएपछि
भूकम्पले झुप्रे घर पनि ढलाएपछि
लागेको थियो उनलाई दोस्रो बज्रपात
त्यसपछि ढुन्मुनिंदै उठ्दै गरेर
आँखामा लाली गुराँस सजाएर
युवाहरू बेचिने लाईसेन्स
हरियो पासपोर्ट हातमा लिएर
धेरै देशको दूर सिमाना काटेर
बेचिँदै-बेचिँदै उडेका थिए परदेश ।

मरूभूमिको तातो बालुवामा
बगाइ रहन्थे पसिनाको सिँचाइ
मानव रोबर्ट बनि घोटी रहदा
अचानक अपसोच दुर्भाग्य
हुन पुग्यो सडक दुर्घटनाको सिकार
कछुवा गतिमा स्वास्थ्य सुधार
हजारौं जिउने आशामा
घर फर्कने समय नजिकिँदै गर्दा
विश्वव्यापी कोरोना कहरले
संसारलाई नै तहसनहस बनाएपछि
घर फर्किने सबै बाटो बन्द भएपछि
फलामे खाटको डन्डीमा अडेस लाग्दै
सोचिरहेथे जिन्दगीको बाटो
सजाईरहेथे रंगीन सपनाहरू ।

फेरि ,
उही माथी पर्न गयो अर्को बज्रपात
रगत क्यान्सरको शुरुवाति सङ्गै
एक्लै पराइभूमिमा थिएन साथ
अस्पतालको बेडमा छट्पटी रहदा
न पाए खाना र औसधि स्याहार
जिर्ण शरीरमा बढ्दो सङ्क्रमण
कोभिड १९ कोरोना भाइसले
लियो सुरजको अन्तिम श्वास।

प्राण प्यारीलाई एकल महिला
छोराछोरीलाई बनाइ टुहुरा
गर्यो सुरजले देह त्याग ।
ए ! शासकहरू कति बेचिरहन्छौ ?
देशका खम्बाहरूलाई
सधैं विदेशीका पोल्टाहरूमा
कति खाईरहन्छौ यूवाहरूका लासले भरिएको
कफिनहरूको असीमित कमिशन !!

संयुक्त लेखन – कविद्वय : रचना – अनुपम
( नोट: यो कविता सिन्धुपाल्चोकका युवा सुरज तामाङको सम्झनामा कविद्वय: रचना मोक्तान र डम्बर थामीले संयुक्त रूपमा लेख्नुभएको हो । सुरजलो कोरोनाको कारण कतारमा निधन भएको थियो ।)

तपाईको प्रतिक्रिया