जानुका धमलाको संस्मरण: प्रिय आनन्द

प्रकाशित मिति :  620 पटक हेरिएको

प्रिय आनन्द.. तिम्रो बलिदान न मुर्दाको कथा बन्यो न चिहानघारीको पर्यटन नै ।

तिम्रो शहादतको सम्मान कसले गर्ने कसको नैतिक पुँजी र अधिकार होला र अहिले ? तिम्रो बलिदान के को निम्ति थियो ? तिमी केका विरुद्ध लडयौ र के प्राप्त भयो ? कसको लागि मात्रै प्राप्त भयो त्यो बिलासिकता । तिम्रो वीरताको इतिहासलाई न मैले एउटा मुर्दाका कथाको रुपमा परिभाषित गर्ने सके न चिहानघारीमा आउने पर्यटकलाई तिम्रो वास्तविक चिहानको सुन्दरताको वर्णन गर्न सके ।

प्रिय आनन्द सत्र वर्ष पूरा भएछ तिमीसँग भौतिक रुपमा विछोडिएको । सत्र वर्षमा मेरो जीवनले भोगेको हन्डर हैरानीमा हिसाब गरेर साध्य नै छैन । कहाँबाट मात्रै सुरु गरु र ती दु:खका यादहरु । बस् यो बसाईमा मेरो जीवनले भोगेको तिरस्कार दु:ख कष्ट भन्दा पनि मैले तिम्रो मनको सुन्दर कुनाबाट जितेको संसार लेख्दैछु । अबोध तिम्रो मनको सुन्दर पोखरीमा अँधेरी रातको जुन जस्तो देखिने तिम्रो मनको प्रतिबिम्ब, तिम्रै मनको निश्चल पोखरीबाट देखिने मनको सुन्दर जुनलाई तिम्रै मनको किनारबाटसँगै बसेर हेर्ने सपना त पूरा भएन तर पनि हारिन जीवनसँग र त तिमीसँगै हुँदा देखेका सपनाहरुका धुमिल धर्सा अझै जीवित छन् । त्यही सपनाहरु छन् र त म जीवित छुँ र बाँचेको अनुभूति गर्छु ।

दोरम्बाको घटना पछि पूर्वी कमाण्डको बैठक बसिर फौजी योजना तय भयो त्यो घटनाको प्रतिरोध गर्न बेथान स्मृति व्रिगेडको १४औं बटालियनको स्पेशल फोर्सद्धारा सर्लाही जिल्लाको बर्दीवास र १५औं बटालियनको स्पेसल फोर्सले लालबन्दीको प्रहरी चौकी कब्जा गर्ने योजना तय भयो त्यही योजना सफल बनाउने क्रममा तिमी पहिलो पल्ट एसल्ट ग्रुपको कमाण्ड गरेर जाँदै थियौ । हामी फरक फरक एसल्ट ग्रुपमा थियौं जाने स्थान पनि फरक थियो । तिमी तिम्रो एसल्ट लिएर कार्तिके देराउरालीबाट मरीन खोला तरेर मोथे तोरीबारी तर्फ लाग्यौ म त्यहीबाट पाँचपाण्डप कौवाडाडा हुँदै सर्लाही जिल्लाको डाप डाँडा अन्तिम सेल्टरमा पुगेँ ।

अन्तिम सेल्टरमा पुग्दा ग्याँस सिलिण्डर बम बोकेर खुलिएको ढाडको छालामा बनेको कालो दाग आफै पनि जीवित छ मसँग । मलाई खुब रहर थियो त्यो सिलिन्डले बनाएको घाँउको दाग तिमीलाई देखाउन । एम्बुस,फायरि, एम्बुसको अनुभव भए मेरो पनि मोर्चाबन्दि लडाईको पहिलो अनुभव थियो । तिमीलाई मेरो सुनाउने कुराहरु सुनाउनै नपाई अबसोच तिमी मैले भोग्ने भौतिक, मानसिक पीडालाई कहिल्यै नसुन्ने, नदेख्ने गरि अस्ताईसकेछौ त्यही रात अर्थात २०६० भाद्र १८ गते ।

तिमी भएको अर्कातिर ठूलो आवाज आयो बम पड्किएको । आफनो जिम्मेवारी त छदै थियो । त्यो आवाजसँगै तिमीले पनि दुश्मनको बंकर ध्वस्त पारेर हतियार खोस्यौ होला भन्ने उत्सुकता मनमा लाग्यो मनमनै खुसी भए । कहिले कमाण्डरको कासन आउला रिटिटको भनेर ।

रिटिट हुने कासन आयो बाटोमा पट्रोलिङमा गएको शाही सेनासँग जम्काभेट भयो हाम्रो टोलीसँग दोहोरो फायरिङ चल्यो हामीले केही थान इन्सासको म्यागजीन र गोलीहरु खोस्यौ उनीहरुसँग हाम्रो तर्फका एकजना स्थानीय कमरेड मनिश घाइते हुनु भएकोरहेछ । उहाँलाई भोलिपल्ट बेलुका मात्रै हामीले डाप डाँडामा भेट्यौं । उहाँको हातको पातामा दुईवटा इन्सासको गोली लागेका थियो । गोली पास भएको थिएन रगत बगेर अन्तिम अवस्थामा छटपटाई रहेकाथिए, हाम्रो सम्पर्कमा आउँदा । मैले गोली निकालेर सिलाएको त्यो घाँउ कस्तो भयो होला ? यो सस्मरर्ण लेख्दै गर्दा क.मनिस प्रति उच्च सम्मान छ । मेरो सिलिण्डरको चिनो जस्तै उनको पनि जनयुद्धको घाइतेको चिनो होला शरीरमा अहिलेसम्म पनि ।

गणतन्त्र आए पछि फापेको भनेको चाकडिबाजहरुलाई मात्रै हो । जसले नेताको तलुवा चाटछ उहीँ तिनीहरुको असल कालिन्दा बने । हिजो जनयुद्धको बेलामा प्राणको बाजी लगाएर लड्नेहरु पाखालगाइए यसको पनि इतिहासले हिसाब त पक्कै गर्ला । संकुचित र कुण्ठित केही मान्छे जातियको नेता बने, धार्मिक नेता बने, वर्ण र समुदायको नेता बने तर भुइमान्छेको नेता कोही बनेनन् यो तन्त्रमा पनि । वर्गीय मुक्ति बिना सबैकुरा अधुरो हुन्छ भनेर कुनै नेताहरुले पनि भनेको सुनिएन ।

निरन्तर एक हप्ता मोर्चाको योजना कार्यान्यनमा नै वित्यो थकाई निकै थियो । हाम्रो टोली सकुशल रिटिट भयो र निश्चित गन्तब्यमा आईपुग्यौं तेही कौवा डाँडामा । ३ महिना अगाडि दमारको स्याउ बाजेको घरबाट छुटिएको हामी गोधुली सन्ध्यासम्म पनि तिमी आएनौ मन बेचैन भयो । तिम्रो ग्रुपको लागि खाना पकाउने जिम्मा पनि मेरो टिमको परेको थियो । खाना तयारी गरेर खाद्यन्न स्टोर तर्फ गए कही तिमीलाई देख्छु कि भनेर तिमीलाई त्यहाँ पनि देखिन स्टोर काम सकेर तिमीले नै एसल्ट गरेर लिएर गएको साथी बिजयको नजिक गएर सोधे तपाईहरु गएको मोर्चाको बारेमा के भयो कमरेड ? मेरो प्रश्न सकिने वितिकै सायद उहाँलाई हाम्रो सम्बन्धको बारेमा थाहा थिएन भने “नुवाकोट घर भएको हाम्रो एसल्ट कमाण्डर क.सचिन शहिद हुनुभयो” । मैले निकै कोशिश गरेर आफूलाई समाले बोल्न रुन चिच्याउन केही गर्न अनुमति थिएन मलाई । सरासर म बसेको घरमा पुगे त्यहाँ पनि रुने बातावरण थिएन । बेलुकाको खाना खाने समय थियो सबै साथीहरु खानाको तयारीमा थिए । कस्तो विडम्बना जीवनको सबै भन्दा प्रिय मान्छे छ ऊसँग भौतिक रुपमा गुमाउदा समेत मनफुकाएर रुन नपाउने उसको यादमा चिच्याउन सकिनँ । मन नभएर नचिच्याएको त कहाँ हो र ? युद्धमा समाहित सिपाहीको पनि मन त कहाँ पत्थरले बनेको हुन्थ्यो र ? भोलीको रोलकलमा कमाण्डर र सहयात्रीहरुले कस्तो कायर र काथर मुटु भएको रहेछ भन्लान् भन्ने डर लागेर पो धित मरुन्जेलसम्म पनि रुन नपाइ ल्याएको हौं त यो गणतन्त्र हामीले .. अर्थात म जस्तै विधुवा चेलीहरुको पुछिएको सिउँदोले १७ हजार वीर योद्धाहरुको बलिदानले ।

निलो आकाशमा कालो बादल मडारियो सुन्दर सपना खोसियो धर्तीमा अबिष्ट हुँनै लागेको जस्तो त्यो समय मेरो लागि टेकेको जमिन भासिदै थियो । सेल्टर लिएको घरको एक कुनामा बसेर सम्झिरहे ८ महिना अगाडि बैनी उषा थापाको शहादत भएको ८ महिना पछि प्रिय जीवनसाथी आनन्द कुमार थापाको कुन अनुहार लिएर आमालाई फेरी तपाईको छोरा सर्वहारावर्गको लागि शहीद भयो भनौ भनेर ? यो मेरो जीवनको वास्तविक यर्थाथ थियो मैले सबै पीडा सहनु नै थियो । सहे चुपचाप सहे कहिले आँसुले परेली भिजाएर सहे कहिले आधा रातामा परेका सपनाका एैठनहरुमा सहे जे जति सहे चुपचाप रहे मनमनै सहें ।
म हेडक्वाटरमा उपस्थित भए । त्यतिखेरका व्रिगेड कमाण्डर हरिबहादुर श्रेष्ठ कमिसार सन्तु दराई र कमाण्ड इन्चार्ज हालका बहालवाला सभापति अग्नि प्रसाद सापकोटा थिए । अहिले सम्झदा लाग्छ बडो अचम्मले सम्झाई बुझाई भयो मलाई शहीदको रगत खेर जान दिने छैनौ । भोलि पल्ट रोलकलमा शोकसभा गरियो आनन्दको नाममा रोलकलमा भनियो आँट चाहिन्छ त क.सन्ध्याको जस्तो त्यो बेला मलाई बहादुर देख्ने मेरा कमाण्डर कमिसारहरु नेताहरु अहिले मलाई चिन्दैनन् किनकि म मेरो परिश्रममा रमाउँछु चाकडी गर्न जान्दिनँ । त्यहीँ रोलकलमा आनन्द कुमार थापा लगायतको कमरेडहरुको सपना पूरा गर्नको लागि कुनै पनि कसुर बाँकी राख्ने छैनौ भन्नेहरुबाट नै युद्ध र बलिदानी घात भएको छ । १७ बर्षमा यो कुरा पनि प्रमाणित भयो कि यो सब भन्ने कुरा मात्रै रहेछ संसदभबन भित्र छिरे पछि त्यो हलको मर्यादाले हिजोको बलिदानलाई नजर अन्दाज गदोरहेछ । मलाई तिम्रो बलिदानसँग गुनासो छैन, गुनासो छ त हिजोका असल्ल सपनाहरुलाई कुल्चनेहरुसँग वर्गीय सपनामा कुठाराघात गर्नेहरुसँग ।

एउटा सम्झनामा बितेको पल मन दुखाईको प्रवाह थिएन त्यो बेला । मात्र प्रवाह थियो त वर्ग दुश्मनको किल्ला भत्काएर सुनौलो सपना जनताको घर आँगनमा ल्याउने । हिजोका नायकहरु खलनायकमा फेरिएलान् र म तिनीहरुको विरुद्धमा खवरदारी केही लेखौला भनेर सोचेको पटक्कै थिइनँ ।

मलाई बाँचुन्जेल कसैको गुलामी र उसको असल कारिन्दा बन्नु छैन । सत्य र न्यायको पक्षमा सकेको चिच्याउन सकुं । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर थोरै भए पनि सामुहिका स्वार्थमा रमाउन सकुं । त्यही आर्शीवादबाट सार्थकता मिलिरहोस तिम्रो आत्माबाट ।

सजीव प्राणी त्यसमा पनि मान्छे भएर जन्मिए पछि तिरस्कृत होइन पुरस्कृत भएर बाँच्नु पर्छ तिमीले भनेका कुराहरु आज पनि उतिकै प्यारो लाग्छ मलाई । तिमी जनमुक्ति सेनाको सदस्य मात्र थिएनौ प्रतिरोधको सकृयता पनि थियौ । साच्चेै तिमीले भनेको जस्तो लेख्नुको अर्थ भौतिक विलासिता नभएर उच्च मानबताको अभ्यासकर्ता कम्युनिष्ट थियौ । लेख्नको लागि लड र लड्नको लागि लेख भन्ने मान्यतालाई आत्मसाथ गरेर नै बन्दुकको गोली जस्तै कलम पनि तिखो थियो तिम्रो ।

क्यामेराले खिचिएका तिम्रा तस्विरहरु कलरबिहिन भए तर तिम्रो यादहरु झन उज्जेलित रंगिनकलरमा सजिरहे । त्यही यादहरुले सच्चा जीवनलाई बाँच्न सिकायो र सच्चाईको जीवन बाँचिरहेको छु । म जन्मे हुर्केको समाजले अझ पनि मलाई निर्धक्क बाँच्न र मेरो पौरखमा रमाउन दिदैन ..मैले रोजेको आत्मनिर्भरता तिनीहरुलाई पटक्कै मन पर्दैन । सधैँ दोस्रो दर्जाको नगारिक सोच्नेहरुले म मेरो परिश्रममा खुलेर हासेको पनि मन पराउदैन । त्यतीखेर असाध्यै प्यारो लाग्छ तिम्रो भौतिक उपस्थिति फेरी याद गर्छु कुनै रात तिमीले भनेका थियौ “यदी मुक्तिको यात्रामा हामी दुई मध्ये म समरको यात्रामा पहिला बिलाए भने पनि बाँकी जीवनलाई भौतिक, शारीरिक र मानसिक अवस्थामा आउने हजारौ चुनौतिहरुलाई समान गरेर अगाडी बढनु यही काफी छ जीवनमा मार्ग निर्देशनको लागि बाँकी दुनियाँसँग त म एक्लै लडे र लड्छु नै” ।

आन्दोलनको नेतृत्व गरेको नेताहरु अहिले सहिद र वेपत्ता योद्धालाई अंशवन्डा लगाउँदैछन् । सहयोद्धाहरु रुपमा त छन्, आत्मा र चिन्तन सहित छन् कि छैनन् ? खोज्नै पर्ने हुन्छ । तिमी जिबित भएको भए – कसलाई राजनीतिक नाइके वा नेता मान्थेउ होलान् ? आजको प्रश्न छ ? तिम्रो बलिदानमा तिनले चिच्याउने कर्कश आवाजभित्र जालझेलको मार्गचित्र प्रष्ट देखिन्छ ।

कम्युनिष्ट शाषकहरुमा हुनुपर्ने चलित्रबारे दार्शनिक प्लोटोले भनेका थिए । उनीहरु ब्यक्तिगत सम्पत्ति बिहिन हुनुपर्छ । शिक्षित दार्शनिक हुनुपर्छ । ब्यक्तिगत र पारिवारीक जीवन भन्दा माथि उठेको हुनुपर्छ । आम मानिसको भन्दा चिन्तन, चेतना र विवेकका आधारमा उच्चकोटिको एवम लोभ मुक्त हुनुपर्छ । त्यसो भयो भने मात्रै एउटा सुन्दर राज्यको संम्भाबना हुन्छ । के यो सम्भब छ नेपालका कम्युनिष्ट पाटीका नेताहरुमा ? सोचनीय प्रश्न छ ।

जब एउटा क्रान्तिकारी अभियान्त सर्वहारावर्गको वर्ग फेर्ने सपना देख्छ र अजमरी सपनालाई सम्झन्छ वर्तमानलाई नियाल्छ भविष्यको बारेमा गम्छ तब हृदयका भावनाहरु कुलेर आक्रोशको शब्दहरु बन्छन तब मान्छे सेन्टीमेन्टल भइदिदो रहेछ । प्रतिकृयाहरु अनेक तरिकाले ब्यक्त हुन्छन । शक्तिहरु आदेशमा हाकिन उर्दी गर्छन तर विद्रोहीहरु संसारमा कहाँ पो उर्दिमा हाकिए र ? उर्दिमा नहाँकिएका ज्वारभाटा विरुद्ध शक्तिसामु नैतिकता धितो नराखेका महान शहीद आनन्द कुमार थापा र क. राजेश प्रति लाखौं श्रद्धासुमन अजर अमर सम्झना प्रिय आनन्द …. त्यही घटनामा घाइते भएर अहिलेसम्म उपचार नपाउनु भएको घाइते कमरेड राम पाण्डे क.उदिप दोलखा दिनेश लामा नुवाकोटका कमरेडहरु प्रति उच्च सम्मान छ ..।

तपाईको प्रतिक्रिया