नेकपाको सचिवालय बैठक आज बस्दै

प्रकाशित मिति :  266 पटक हेरिएको

काठमाडौं । सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । बैठकले पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई स्वामित्व ग्रहण गर्ने र स्थायी कमिटीमा पेस गर्न प्रस्तावको रूप दिने बताइएको छ ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते नै सचिवालय बैठक बोलाइएको थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक भदौ १८ गतेलाई सारिएको थियो । यसैबीच राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने कि युवराज खतिवडालाई नै दोहोर्याउने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले युवराजलाई दोहोर्याउने पक्षमा छन् । तर वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा पठाउनुपर्ने भन्दै दुई अध्यक्षलाई बताइसकेका छन् । गौतमकाबारेमा बैठकले के गर्ला भन्ने चासो सबैको रहेको छ ।

तपाईको प्रतिक्रिया