प्रचण्ड भाष्करको कविता: “हाँस्न नजान्ने मान्छे”

  अस्मिता स्मृति प्रकाशित मिति :  600 पटक हेरिएको

म नजिकै बगिरहेछ
वर्षौं देखि एउटा ठूलो दुःखको खोला
जसले चलाइरहेछ मेरो जिन्दगीको घट्ट!

जहाँ,
म पिसिरहन्छु
अभावका दानाहरू
कुटिरहन्छु भोगका बियाँहरू

उसै खोलाबाट निस्किएको हो
मलाई प्रयाप्त हुने अँध्यारो बत्ती
जसलाई देखेर मुस्कुराईरहन्छ
छेउमै बसेको उज्यालो बस्ती!

कुनैदिन दुःखको खोला सुकिगयो भने ?
कहिल्यै नदेखेको सुखको वर्षा मेरो आँगनमा बर्स्यो भने ?

मलाई डर लागिरहन्छ
कतै उसले सुकाईलाने/ बगाईलाने त होइन
सरकारले सरोकार राख्ने
उज्यालो बस्तीमा मस्ती गर्ने
हँसिला हस्तिका मुस्कानहरू ?

किनकि मलाई हाँस्न आउँदैन !

तपाईको प्रतिक्रिया