इन्द्रिरा प्रसाईंको लघुकथा: ओहो ! रचना

  अस्मिता स्मृति प्रकाशित मिति :  538 पटक हेरिएको

ओहो ! रचना !
‘तिमीले चिनेकी र यिनलाई ?’
पतिले सोधेका थिए ।
“हामी स्कुलदेखि विश्वविद्यालयसम्म सँगसँगै पढेका हौँ । त्रिविको कान्ति छात्रावासमा पनि यो मेरी रूममेट थिई ।”
सपनाले टीभि हेर्दै लोग्नेलाई जवाफ फर्काएकी थिइन् ।
‘यिनी त ख्यातिप्राप्त साहित्यकार रै’छिन् त, सरकारी प्राज्ञ पनि भैसकेकी रहिछिन् । तिम्री साथी भन्दा मलाई त पत्यारै लागेन ।’
पतिले अलि ओठ लेब्र्याएरै भनेका थिए ।
‘म सानैदेखि कथा कविता लेख्थेँ । रचनालाई लेख्नै आउँदैनथ्यो । स्कूलको हरेक कार्यक्रममा मैले कवितामा पुरस्कार पाउँथेँ । यही रीत थियो कलेजमा पनि । उसको बुबाले त रचनालाई मजस्तै हुनुपर्छ भनेर मेरै सामुन्नेमा पटक पटक गाली पनि गर्नु हुन्थ्यो । मैले एक दुई पल्ट रचनाका लागि पनि कविता लेखिदिएकी छु । ‘
सपनाका कुरा सुनेर उसको पतिले उसलाई अनपत्यारिलो नजरले नै हेरेका थिए ।
” ‘तँलाई कसरी लेख्न आउँछ हँ? मलाई त जति गर्दा पनि आउँदैन।’ उतिबेला रचना मसँग रूञ्चे भएर गुनासो पनि गर्थी । रचनाको पढाई नै पनि त्यस्तो राम्रो थिएन । धनी बाउकी छोरी हुनाले टिउसनले पेलेर नै उसलाई पढाएका थिए । मेरो नोट्स सारेर रचनाले मलाई हैरानै पार्थी ।
रचना राम्री भने थिई है । स्कूलदेखि नै केटाहरूले उसलाई लभलेटर लेखेर हैरान पार्थे । कलेज र त्रिवि पुगेपछि त उसका कति हो कति केटा साथी ! अनि उसको बाउले कुन कुन पार्टीलाई त उहिलेदेखि नै चन्दा दिने गरेकै थिए नि !” सपना निकै लामो सास फेर्दै एकैछिन रोकिएकी थिइन् ।
“हजुरलाई थाहै छ नि, मेरो त बिहेपछि जागिर, घर गृहस्थी र सन्तानसँग रूमलिँदा रूमलिँदै साहित्यसृजना त कता पुग्यो कता !” सपना अब चुप लागेकी थिई । उसको पतिको अनुहारमा भने अलि ओझल परेको थियो ।
‘रचनाको धनीसँगै बिहे भयो । उसको लोग्ने पनि व्यापारी नै परे । हजुर नै भनिस्योस् न ? राम्री पनि पैसा र पाओर पनि भएपछि के पाइँदैन र अहिलेको हाम्रो नेपालमा ! तर उसको बिहे भएपछि मेरो उसँग भेटै भएको छैन भने पनि हुन्छ है।’
सपनाले कुराको बीट मारेपछि अलि लामो सास फेरेको सुनियो ।

तपाईको प्रतिक्रिया