हेमन्त गिरीको कविता: “बुद्धे”

  अस्मिता स्मृति प्रकाशित मिति :  579 पटक हेरिएको

कुनै झुपडीबाट आइरहेछ वर्षौं देखि
मुटुमा किलो ठोके जस्तो आवाज !
लाग्दछ
कोही अबिराम
केही बनाइरहेछ ढुङ्गोमा !

हिर्काइरहन्छ निरन्तर
हथौडाले छिनुलाई
छिनुले ढुङ्गोलाई
ढुङ्गोले समयलाई !

हिर्काउँदा हिर्काउँदै ढुङगोमा
राजाको अनुहार आई बस्छ कहिले
प्रधानमन्त्रीको आकृति आई खस्छ कहिले
उसले झन जोडले हिर्काउँछ !

हिर्काउँदा हिर्काउँदै ढुङगोमा
मुगलान पसेको छोरो आई बस्छ कहिले
अभावमा खसेकी स्वास्नी आई बस्छे कहिले
उसले अलि सुस्त हिर्काउँछ !

रिन दिएर दिन लुटेका साहू-मुखिया
बाटो लागेर कान्लो भत्काएका आफन्त
आई बस्दा ढुङगोमा
उसले जोडजोडले हिर्काउँछ !

पिण्ड नपाएर तड्पिएका बा-आमा
कन्यादान नपाएर बिरानिएकी छोरी
आई बस्दा ढुङगोमा
उसले अलि सुस्त हिर्काउँछ !

अलि पर
निरन्तर खुइलिइरहेको बूढो पहाड हेरेर टोलाउँछ
आफ्नै हातमा हिर्काउँछ !
झन पर
निरन्तर साँघुरिइरहेको क्षितिज हेरेर वैरागिंन्छ
आफ्नै आँखामा चुर्ना उछिट्याउँछ !

असह्य भई,
चिच्याउँछ झुपडीसँग
गाली गर्छ नदीलाई
सराप्छ आकासलाई
झटारो हान्छ वायूलाई

रमितेहरूको दाबी छ-
बुद्धे बहुलाएको छ अचेल

हो पनि..
नबहुलाइ त कहाँ सकिन्छ र
आफ्नै शरीरमा
हथौडा र छिनु चलाई
बुद्धेलाई बुद्ध बनाउन !?

✍️ हेमन्त गिरी, जापान

तपाईको प्रतिक्रिया