रातो मच्छिन्द्रनाथको रथ आज अपराह्न तानिने

प्रकाशित मिति :  414 पटक हेरिएको

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टेसम्म तानिने भएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज दिउँसो ३ बजे रथ तानिने जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले बताए ।

यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।

आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको छ। गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराए ।

रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराए ।विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आगामी शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । वि।सं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया