सजना गोले तामाङको कविता: दुई खुसी

  अस्मिता स्मृति प्रकाशित मिति :  382 पटक हेरिएको

हरेक जीवनको
जम्माजम्मी दुई
खुसी हुँदो रहेछन
बाल्यकालको खुसी
र जवान खुसी
खुसी, सपना र सङ्घर्ष छ त
सिङ्गो जीवन छ ।

जीवनमा सपनाहरू
खुसीसँगै पटक पटक
गड्याङ गुड्युङ गरिरहन्छ
जिन्दगीको चट्याङ जस्तै
त्यही चट्याङको एक झिल्कोमा नि
एउटा खुसी लुकेको हुँदोरहेछ ।

म त भन्छु
जिन्दगी, खुसी र सपना
कहिले सानो हुन्न
न कुनै आकार, प्रकार नै हुन्छ
तिम्रो जस्तै मसँंग नि
थुप्रै छ्न स-साना खुसी थाकहरू

घाँगरको फेरो च्यातिदा
सिलाउन नजान्द
औँला घोचिदाको खुसी
डोको भरी घाँस भरिदाको खुसी
अनि कहिले पाठशाला जादा
फ्रेम कलमको टुप्पो भरी
सखीले निलो मसिको एक थोपा
भरिदिदाको खुसी
अनि कापीको
एक पेज च्याति दिदाको खुसी

भोकै फर्किदा बाटोहरुमा
आँप, आम्बा
निबुवा चोरेर खाँदाको
एउटा गुलियो,अमिलो खुसी
भेंडीगोठ जाँदा
अक्करे भिरहरू उग्लिदाको खुसी
स-साना डुङ्गाका
गड्टीहरु खेल्दाको खुसी
असारे हिलोमा रोपाइँ गर्दा
खेतका गह्राहरुसँग प्रीत साटेको खुसी
मकै गोड्दा मकैको बोटसँगै आफ्नो
अग्लाइ नाप्दाको खुसी
यीनै खुसीका रङ्गहरू
जवानीसँगै फेरिदो रहेछन ।

हाम्रा खुसीहरू
अतिरञ्जित सपनाहरू
अतृप्त खुसीहरू
कहिले बताससँगै
कहिले नदीहरुसँगै
कहिले मरुभूमिको उन्मात गर्मीहरुमा
कहिले वर्षौँसम्म
नपग्लिएका हिँउको थुप्रोहरुमा
कहिले पसिनाको मोल मोलाइहरुमा
कहिले भोक भोकै छट्पटाइहरुमा
तिमीले सुनाइरहँदा
जीवनका अद्भुत खुसीहरू

मसँग नि भरिएका छ्न
जिन्दगीको एउटा
पुरानो झोलाभरी
अक्ट्या खुसीका
अंक गणितीय, बिज गणितीय
र ज्यामितिय कोणका एक थान
खुसीका सूत्रहरू
जुन हामी जीवनमा
वर्षौँदेखि पटक पटक
घोकिदै आएका छौं ।

यसरी नै अक्सर
हाम्रा खुसीहरू,
कहिले समकोण बने,
कहिले त्रिभुजाकार बने,
कहिले अयातकार बने
कहिले वर्गकार बने
र कहिलेकाहीँ चतुर्भुजाकार नि
यसरी नै नापिरहेछ जीवनमा

एउटै स्केलले
खुसीका अायतनहरू
बुनिरहेछ हरदिन
एक फरक सपना
र त यतिखेर
सुनाइ रहेका छौं हामी
एउटा पूर्ण जीवनको
एउटा सार्थक खुसीहरुको
विवेचनाहरू सारांशहरू ….!!

तपाईको प्रतिक्रिया