शिरीष ढकालको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  586 पटक हेरिएको

यहाँ साधुलाई सुली, चोरलाई फूलमाला बनाइन्छ,
तब न कालालाई गोरा र गोरालाई काला बनाइन्छ ।

लाभको पद त पाउनै सक्दैन कसैले मेरो देशमा,
हकदारमा त मन्त्रीको सम्धी, जेठान, साला बनाइन्छ ।

बाँकी रहन्नन फाइदा लिन कोहि आसेपासे तीनका,
आफ्नै घरबेटीलाई समेत पो हकवाला बनाइन्छ ।

भाइ ठेक्केदार बुहारी स्वकीय सचिवको नियुक्तिले,
टन्न खातामा पैसा र हातमा सुनको बाला बनाइन्छ ।

गरिबको मुक्तिका खातीर हेर्नुस् जति क्रान्ति गरेपनि,
खेताला सधैं खेताला, गोठालालाई गोठाला बनाइन्छ ।।

शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई

तपाईको प्रतिक्रिया