विज्ञहरू भन्छन: खोप सम्बन्धी विगतका गल्तीले हतारिनु मूर्खता हो

प्रकाशित मिति :  217 पटक हेरिएको

एजेन्सी । विज्ञहरुले खोप सम्बन्धी हतार नगर्न यतिबेला अमेरिकी सरकारसँग पटकपटक आग्रह गरिरहेका छन् । वैज्ञानिक परीक्षणको प्रक्रिया पूरा नगरि खोप सुरक्षित र प्रभावकारी छ भन्ने सुनिश्चित गर्न सकिँदैन । त्यसैले यस काममा हतार गर्नु धेरै ठूलो गलती हुने इतिहासका विभिन्न घटनाले पनि देखाइसकेको उनीहरु बताउँछन् ।

कुनै पनि खोप प्रयोगका लागि स्वीकृत हुन यसले क्लिनिकल ट्रायल र विभिन्न स्तरका परीक्षणबाट पर्याप्त डाटा संकलित गर्नुपर्ने हुन्छ । रोग विरुद्ध सो खोपले पूर्ण सुरक्षा दिलाउन सक्ने प्रमाणित नभएसम्म सो खोपलाई योग्य मानिँदैन । त्यसरी डाटा संकलन गरिसकेपछि पनि विज्ञहरुले महिनौँ त्यसको अध्ययन गरि शत् प्रतिशत पक्का भएर मात्र सबैका लागि खोप उलब्ध गराउने चलन रहेको छ ।

तर कतिपय असाधारण अवस्थामा ‘इमर्जेन्सी युज अथोराइजेसन’ अर्थात आपत्कालीन प्रयोगको अनुमति दिइन्छ जसबारे अहिले ट्रम्प प्रशासनले विचार गरिरहेको छ । यस अन्र्तगत तेस्रो सबैभन्दा ठूलो चरणको क्लिनिकल ट्रायल गरि खोप सुरक्षित भएको बलियो प्रमाण भएमा, समय अगावै खोप प्रयोग गर्न पाइन्छ । यसअघि अमेरिकाको खाद्य तथा औषध विभागले राष्ट्रपति ट्रम्पले कोभिड विरुद्ध प्रभावकारी हुन्छ भनेर पटकपटक दाबी गरेपछि ‘हाइड्रोअक्सीक्लोरोकिन’ लाई यही इयुए मार्फत वैज्ञानिक परीक्षण नगरि प्रयोगका लागि मान्यता दिएको थियो । तर जुनमा यसमाथि गरिएको रिसर्चपछि यो औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी नभएको देखिएको हो र उल्टै मुटु सम्बन्धी गम्भीर समस्या गराउन सक्ने जोखिम भएकाले इयुए मान्यता फेरि रद्द गरिएको थियो ।

२००५ मा पनि अमेरिकाको रक्षा विभागले यसरी नै इयुएको माग गरेको थियो । तर पछि यही हतारमा गरिएको निर्णयका कारण सेनाहरुले अनिवार्य एन्थ्राक्स खोपले आफूलाई बिरामी पारेको आरोप लगाउँदै मुद्दा हालेका हुन् । यसरी खोप निर्माण प्रक्रियालाई छोट्याउँदा नराम्रो परिणाम भोग्नुपरेको यस्ता थुप्रै उदाहरणहरु छन् ।

१९५५ अप्रिलमा बालबालिकाहरुलाई पोलियो विरुद्ध बचाउने पहिलो खोपको घोषणा गरियो । त्यसको केही दिनमै ल्याबले हजारौँको सङ्ख्यामा सो खोप उत्पादन गर्न सुरु गर्यो । तर ती मध्येको एक कम्पनी, कटर ल्याब्सले बनाएको खोपको ब्याचमा दुर्घटनावश् पोलियो भाइरस पनि पर्न गयो, जसले फेरि अर्को प्रकोप सुरु गराएको थियो । यसका कारण ४० हजार बालबालिकालाई पोलियो संक्रमण भयो भने सयौँलाई प्यारलाइसिस भएको खबर गरियो अनि १० जनाको मृत्यु पनि भएको थियो । यसपछि २ लाख भन्दा बढी बालबालिकाहरुले लगाएको सो खोप सम्बन्धी सबै कार्यक्रम सरकारले बन्द गर्नुपर्यो । यति मात्र नभएर १९५५ देखि १९६३ का बीच उत्पादन गरिएका पोलियोका खोपहरु ‘सिमियन भाइरस–४०’ नामक भाइरसले दुषित भएको पाइएको थियो । त्यो बेला वैज्ञानिकहरुले हतारमा गरेको गलतीका कारण लाखौँ अमेरिकीहरुमा रोग फैलिएको थियो ।

यसैगरी १९७६ मा पनि वैज्ञानिकहरुले स्वाइनफ्लु नामक नयाँ संक्रमण फैलने भविष्यवाणी गरेका हुन् । यसको ४० वर्षपछि इतिहास विद्हरुले यो घटनालाई कहिल्यै ‘नभेटिएको फ्लु महामारी’ को नाम दिएका हुन् । त्यस समयमा तत्कालीन अमेरिकी राष्ट्रपति गराल्ड फोर्डलाई उनका सल्लाहकारहरुले नयाँ विश्व महामारी फैलिरहेको खबर गरेका थिए जुन स्पेनिश फ्लु जत्तिकै खतरनाक हुने सबैको भनाइ थियो । यसपछि फोर्डले अचानक खोप निर्माण गर्ने तयारी गर्नुपर्यो । हतारमा निकालिएको त्यो खोप त्यसबेला सबैका लागि अनिवार्य गरिने निर्णय पनि भयो । सरकारको सो कार्यक्रम सात महिनामा सञ्चालनमा आयो जसपछि ४ करोड मानिसलाई स्वाइन फ्लु विरुद्धको खोप दिइयो ।

पछि यही खोप अभियानलाई न्युरोलोजिकल समस्यासँग जोडिएको हो जसलाई ‘गुलियन बेर सिन्ड्रोम’ पनि भनिन्छ । यसबाट नयाँ संक्रमण विकसित हुन सक्ने हुँदा खोपका कारण सयौँ मानिसलाई गुलियन बेर सिन्ड्रोम हुन पुग्यो । यसपछि मात्र सरकारले उक्त खोप कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो । यसरी स्वास्थ्य जस्तो संवेदनशील विषय सम्बन्धी हतारमा गरिएका निर्णयले वास्तवमै भयानक परिणाम निम्त्याउन सक्ने इतिहासले पनि स्पष्ट पारिसकेको छ । सीएनएन

तपाईको प्रतिक्रिया