नवराज मैनालीको कविता: अनागरिक म!

  अस्मिता स्मृति प्रकाशित मिति :  520 पटक हेरिएको

म यो देशको शासकले बलत्कार गरेर
मेरी आमाको कोखबाट
नदीको किनारमा
जन्मेको त्यो अबोध शिशु हुँ।

मेरो रङ्ग अरुको भन्दा फरक छ
म हुर्किने समाज अलग छ
मेरो शरीरको उचाई पनि बेग्लै छ।

होला मैले हुर्किदै गर्दा
धेरैं आमाहरुको काखमा खेले
तर मेरो बाबु कयौंको अस्मिता लुट्न पुगे
म वंशज बिहिन मान्छे हुँ।

मेरो शरीरको बनावटले मेरो पहिचान छैन
बाटो हिड्दा पनि शङ्का गर्नेमा पर्छु
मसँग लगाउने गतिलो बस्त्र छैन
आफ्नै अस्तित्वको खोजिमा हिडेको यात्री हुँ म।

मैले पढेको कुनै स्कुल छैन
मेरो गुरुकुल
यो धर्तीको माटो
यो खुल्ला आकाश
यहाँ देखिएका नदीनालाहरु
यहाँ देखिएका घनघोर जङ्गलहरु
यस्तै यस्तै हुन।

मसँग मेरो जन्म मिति पनि छैन
मेरो आफ्नै किटान गर्ने त्यस्तो भूमी
निजि लिखित केही छैन

खास परिचय दिलाउने
प्रमाण नभए पछि
सनाखत नगर्ने आफन्त भए पछि
म अनागरिक हुँ।

नवराज मैनाली
प्रदेश नम्बर-१ इटहरी, सुनसरी ।

तपाईको प्रतिक्रिया