बि.एन. ढकालको कविता: एक साँझको अतिथि

  अस्मिता स्मृति प्रकाशित मिति :  530 पटक हेरिएको

म सानै छँदा स्कूलमा शिक्षकले
सामाजिक शिक्षा नामको पुस्तकमा
पढाउनुहुन्थ्यो–
भाषा र संस्कृति !
देश र राजनीति !

बारम्बार भन्नुहुनथ्यो सर
सगरमाथाको देश नेपाल,
भगवान् बुद्धको देश नेपाल,
वीर गोर्खालीको देश नेपाल,
सुन्दर शान्त विशाल…!

त्यहीबेला सिकेको हो उसले पनि
देशलाई माया गर्न
तर साथी,
मायाले मात्र संसार नचल्दोरहेछ–

घुम्दै जाँदा घडीको सुई
बढ्दै जाँदा जिम्मेवारीको काँध
समयलाई एकैछिन मुठ्ठीमा बाँध्न नसकेपछि
सजाएर झोलामा भारी सपना
सिउरिएर टाउकाेमा उत्तरआधुनिक समयको श्रीपेच
लगाएर ‘आइ लभ नेपाल’ लेखिएको टिसर्ट
ऊ तरेको हो समुन्द्र ठूलो जहाजबाट !

लामो समयपछि
हिजो देश हँसाउन आफू रुने ऊ
पिठ्युँमा एक झोला सौगात बोकेर
आज देश रुवाउन आफू हाँस्दै
भर्खरै आइपुगेको छ यो देशमा
‘आइ लभ लण्डन’ लेखिएको टिसर्ट भिरेर
एक साँझको अतिथिझैँ–
यानिकी, उसलाई भोलि बिहानै
दौड्नु छ हतार–हतार उत्तर आधुनिक समयसँग

-बि.एन. ढकाल
अरूण गाउँपालिका ५, भाेजपुर।
हालः काठमाडाैं ।

तपाईको प्रतिक्रिया