दिपक थापाको कविता: आमा बिरामी छिन्

  अस्मिता स्मृति प्रकाशित मिति :  492 पटक हेरिएको

ए हिमाल !
तिमी शितलता लिएर आऊ ।
ए पहाड !
तिमी अक्सिजन फैलाऊ ।
ए तराई !
तिमी न्यानाेपन लिएर आऊ ।

ए किसान !
तिमी हरियो चोली र फरियामा सजिएर आऊ ।
ए मजदुर !
तिमी भाैतिक निर्माणका स्वर्णिम सम्भावना बोकेर आऊ ।
ए भरिया !
तिमी पसिनाको समुद्रमा सिर्जनाको जहाज लिएर आऊ ।

ए नानी बाबु !
तिमी सुनौला जिज्ञासा बोकेर आऊ ।
ए युवा पुस्ता !
तिमी जिम्मेवारी बोक्ने काँध फैलाऊ ।
ए अग्रज पुस्ता !
तिमी आफ्नो अनुभव दिएर जाऊ ।

यतिबेला मेरी आमाको छातिमा
सल्किरहेछ अतिक्रमणको आगो
ए पूर्व-पश्चिम !
तिमी नदी खोलामा ओर्लिएर अञ्जुलीभरि पानी लिएर आऊ ।
ए उत्तर-दक्षिण !
तिमी वैरीसँग कहिल्यै नझुक्ने गरी शिर उठाऊ
र फैलाऊ चारैतिर स्वतन्त्रता र समानता हातहरु ।

ए चन्द्र-सूर्य !
तिमी अन्धकारमा ज्योति फैलाऊ ।
ए बादल-वर्षा !
तिमी धर्ती भिजाऊ ।
ए श्रमजीवी ! ए धर्तीप्रेमी !
तिमी सिर्जनाको बाली लगाऊ ।

ए न्यायप्रेमी ! ए बुद्धिजीवी !
तिमी समानताको बाली भित्र्याऊ ।
ए विशेषज्ञ !
तिमी औषधी लिएर आऊ ।

यतिबेला मेरी आमा पृथ्वीको कुनै कित्तामा
जीवन र मरणको दोसाँधमा उभिएर
लडिरहेकी छन् आफ्नै मृत्युसँग !

दिपक थापा
अरूण गाउँपालिका ७, भाेजपुर ।
हालः काठमाडाैं

तपाईको प्रतिक्रिया