विदेशमा कोरोना संक्रमणबाट हालसम्म २४३ नेपालीको मृत्यु,साउदीमा ६० शव अलपत्र

प्रकाशित मिति :  286 पटक हेरिएको

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ४३ जना नेपालीको निधन भएको छ ।

गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको साउदीस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्र सिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।

यस्तै, यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । यो सँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए ।

समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोनाका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

यस्तै, नेपालमा मात्र ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ३७ हजार ५ सय जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा ३ सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत रहेको छ ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ ।

साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले निधन भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया