नेपालमा थप पाँचजना कोरोना संक्रमतिको मृत्यु

प्रकाशित मिति :  244 पटक हेरिएको

काठमाडौं । मोरङ, महोत्तरी, कपिलवस्तु र चितवनमा गरी थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।

त्यसैगरी, महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका उनको आइतबार मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले जानकारी दिए । भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।

त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका वाड नम्बर ५ बर्ष ४७ की महिलाको सोमबार बिहान ४ः३० बजे मृत्यु भएको भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार उनी मिर्गौला तथा उच्च रक्तचापको बिरामी थिइन् । उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

त्यसैगरी, चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिएका छन् । हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया