श्याम लामा योञ्जनको गजल

  अस्मिता स्मृति प्रकाशित मिति :  519 पटक हेरिएको

बाख्राको पाठा जस्तो बुरुक्बुरुक उफ्रेर हिँड्छ
यो मान्छे किन आजभोलि मै हुँ भनेर हिँड्छ !

जान्दैमा यौटा सूत्र अनि यौटा शास्त्र पढ्दैमा
तपस्वी जस्तो आफूलाई विद्वत् सोचेर हिँड्छ ।

देखिन्छन् रुखमा झुन्डेका चमेरा जस्तो, तैपनि
राजा महाराजा झैँ गरी ठूलो पल्टेर हिँड्छ !

आफैले आफू हिँड्ने बाटो खन्न नसके पछि
अरुले खन्दै गरेको बाटोमा थुकेर हिँड्छ !

थुन्ने दुस्प्रयास नदीलाई नगरेकै जाती हुनेछ
किन कि ऊ त रुक्दैन बरु धार बदलेर हिँड्छ !

तपाईको प्रतिक्रिया