कविता विश्वकर्माको कविता: “वसन्त ऋतुले छोएका फूलहरुमा”

  अस्मिता स्मृति प्रकाशित मिति :  280 पटक हेरिएको

आहा! कति सुन्दर यी फूलहरू
हेर त! मनै लोभ्याउने गरि फूलिरहेका
चिर्रबिर्र चिर्रबिर्र गर्दै पक्षीहरु हेर त
हर्षोल्लासले आन्नदित भइ डुलिरहेका
केही भमराहरु भुनभुनाउदै झुमिरहेका
वसन्त ऋतुले छोएका फूलहरुमा।

आई वसन्त ऋतु छोइदिए ती कोपिलाहरुमा
त्यसैले त फक्रिरहेका छन सुस्त सुस्त
बिहानीको मिर्रमिरेमा शीतका थोपा तप्पतप्प पर्दा
घामको एक झुल्को पर्दा टलक्क टल्किरहेका
शीतका थोपा अनि घामको न्यानोपनाले
आहा! उनको सौभाग्य चम्काइरहेका
वसन्त ऋतुले छोएका फूलहरुमा।

मनमा अनेकौं कुरा खेल्दा
तिम्रै वरिपरि आइ कुरा गरिरहेको हुन्छु
मन त्यसै बेचैन हुँदा
तिमीले गाएको त्यो मन्द धुन सुन्छु
पीर चिन्ताले मनलाई सताउँदा
तिमी सँगै रमिदिउँकी झैं लाग्छ
तिमी सँगको एक स्पर्शले
यो सारा जगत भुलिदिउँकी झैँ लाग्छ
वसन्त ऋतुले छोएका फूलहरुमा।

तिमी फक्रिदाका पलहरु
यी नयनमा कैद गरेर
तिमी मै मात्र बिलिन भइरहुँझैँ लाग्छ
तिम्रो त्यो सुगन्धमा डुबि
आफू आफैँभित्र सदा हराउँझैँ लाग्छ
कोमलरुपी मनमा बास बसुँझैँ लाग्छ
वसन्त ऋतुले छोएका फूलहरुमा।

तिमी फूल्दै सुगन्ध फैलाउदा
लोभान्वित हुन्छु म मनुष्य
तिमी पवित्र छ्यौ
तिम्रो मन निश्चल छ
तिमीमा न कुनै लोभ छ
तिमीमा न कुनै मोह छ
मोहित त म मनुष्य पो भएछु
तिमी बेफिकर रमाइरहेकी हुन्छ्यौ
तिम्रो त्यो रमाइसँगै
म मनुष्य रमाउने कोशिश गरिरहेको हुन्छु
वसन्त ऋतुले छोएका फूलहरुमा।

कविता विश्वकर्मा
काभ्रेपलाञ्चोक पाँचखाल-१
हाल काठमाडौं।

तपाईको प्रतिक्रिया