राज्यमन्त्रीको टाउको दुखाउँदै बञ्चरेडाँडा

प्रकाशित मिति :  273 पटक हेरिएको

काठमाडौं । बञ्चरेडाँडा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको टाउको दुखाइको विषय बनेको छ । स्थानीयले पटकपटक गुनासो गर्न थालेपछि मन्त्री आफैं त्यहाँ पुगेका हुन् ।

शहरी विकास मन्त्रीको जिम्मेवारी पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले लिएका छन् । राज्यमन्त्री मानन्धर मन्त्रालयको काममा बढी सक्रिय छन् । फोहोर व्यवस्थापनमा संकट हुँदै आएपछि राज्यमन्त्री मानन्धर आइतबार सम्वन्धित क्षेत्रको अवलोकन गर्न पुगेका हुन् । मन्त्रीले ‘ल्याण्डफिल साइट’ निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधीन साइट निर्माण भइरहेको छ । स्थानीयले पहिले आफूहरुसँग गरिएको सहमति सरकारले नमानेको भन्दै आपत्ति जनाएका छन् । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

ल्याण्डफिल साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले बर्खाको समय र लकडाउनका कारण केही ढिला भएको बताए । बन्चरेडाँडामा काठमाडौं, ललितपुर महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्याण्डफिल साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वषौंसम्म फोहोर व्यवस्थापन गरिँदा साइट भरिएको छ । त्यहाँ स्थानीयले विभिन्न संघर्ष समिति पनि गठन गरेका छन् ।

तपाईको प्रतिक्रिया