इन्दिरा प्रसाईको लघुकथा: “दसैँ”

  अस्मिता स्मृति प्रकाशित मिति :  540 पटक हेरिएको

•••
“होइन हो… यो दसैँ पनि दशाजस्तो किन चैँ आउँछ हौ बित्थामा…हाम्लाई एइ कोरोनाको दशा कम्ति थियो र ? ”
ऊ लामै खुइय काड्दै बोलेकी थिई ।
“एई राँड! वर्ष दिनमा आ’को दसैँका मुखमा किन अलच्छिन लगाएर मर्छेस् ! कोरोना नहुँदै पनि सधैँ नै हाम्रा दुक्ख कम थियो र ?”

त्यतै कतै फोहोर कपडाको थुप्रोजस्तोबाट मधुरो र थाकेकोजस्तो स्वर आएको थियो । त्यसपछि भने त्यतैबाट एकोहोरो खोकेको मात्र आवाज सुनिएको थियो ।
“खुब बोल्छ्यौ हैजाबूढी, तिम्रा बाजेको लच्छिन् लाग्या छ नि यतिबेला पनि… ! दसैँ लागेपछि तिम्रा छोराको जाँड र जुवाको खालमा बास छ । तिम्रा साँढले मसँग भएका दुईचार पैसा पनि लुछेर लगिसके । तिम्रा नाति कता जान्छ ? के खान्छ ? था’छैन । तिम्री नातिनीधरी कोठामा सुत्न नआ’ तीन दिन भइसक्यो ।

अनि तिमीले बिर्स्यौ कि क्या हो बजै ? तिम्रा खसम पनि दसैँकै दिन विषालु ठर्रा खाएरै बितेका होइनन् । अनि तिम्लाई अझै पनि दसैँकै लच्छिन चाहियो ?” बुहारी चैँको कर्कश आवाज अब बन्द भएको थियो ।
प्रतिउत्तरमा साँघुरो कोठाको अँध्यारो कुनोबाट उही हुरुक्क हुञ्जेलको एकोहोरो खोकीमात्र आएको थियो ।
•••

तपाईको प्रतिक्रिया