मकवानपुरमा मोटर मर्मत गर्ने क्रममा दुईजनाको मृत्युु

प्रकाशित मिति :  384 पटक हेरिएको

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ ।

दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै बिहान ९ बजे इनारमा पसेका थिए ।

साह बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए । दुवै लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पसेका थिए ।

लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस भएका थिए । त्यसपछि होटलका सञ्चालकले प्रहरीलाई खबर गर्नासाथ नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हेर्दा दुवैको शव फेला परेको हो ।

बेहोस भएका लोलाई भने उद्धार गरी चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

साह र नेपालीको शव पोष्टमार्टमका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया