‘ए मेरो हजुर ४’ मा दुर्गेश थापाको पनि अभिनय रहने 

प्रकाशित मिति :  1000 पटक हेरिएको

काठमाडौं । कोरोनाको संक्रमणबाट बच्न सरकारले देश लकडाउन गरेपछि अधुरैमा छायांकन रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ मा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रवेश भएको छ ।

आइतवार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग गायक र कलाकारको रुपमा सम्झौता गरेका हुन् ।

गायक थापाको फिल्ममा अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता थापाले जानकारी दिए । तर, फिल्ममा दुर्गेशले निर्वाह गर्न लागेको भूमिका भने खुलाइएको छैन । कथाको माग अनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको निर्माता थापाको भनाई छ । दुर्गेशले गाउने गीत केही दिनमा रेकर्डिङ हुनेछ । उनले ‘ए मेरो हजुर ४’ मा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर शेयर गर्दै लेखेका छन्, ‘म पनि ‘ए मेरो हजुर ४’ मा जोडिएको खबर सुनाउन पाउँदा निकै खुसी छु । यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाईप्रति आभारी छु ।’

कोरोनाको महामारी अन्त्य भएपछि ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु हुनेछ । यो फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोनाका कारण फिल्मको छायांकन समेत पूरा हुन सकेको छैन । अनमोल र सुहानाले दोस्रो पटक स्क्रिन शेयर गरेका कारण दर्शकहरु यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । फिल्ममा सलोन बस्नेतको पनि अभिनय छ ।

तपाईको प्रतिक्रिया