तिलक थापाको कविता: आफन्तै-आफन्तको बजार

  अस्मिता स्मृति प्रकाशित मिति :  496 पटक हेरिएको

हरायो स्वच्छता पुगिसक्यो शुन्यमा
कार्यालय र हरेक तह-तप्कामा
लाग्न थाल्यो आफन्तै-आफन्तको बजार

हरायो स्वच्छ प्रतिस्पर्धा
अपमानित हुँदै छन् प्रमाण पत्र
लोप भयो निस्पक्षता
बढ्दै गयो अनियमितता
जता पनि लाग्न थाल्यो
आफन्तै-आफन्तको बजार

रिक्त भयो दरबन्दी
निकालियो सूचना पाटीमा सूचना म्याद
मिति टाँसियो पन्ध्र दिन
अन्तिम मितिको अघिल्लो बेलुकी
सुरु भयो भोलि पल्ट आफन्तको नियुक्ति
जता पनि लाग्न थाल्यो
आफन्तै-आफन्तको बजार

हरायो नीति भुल्न थाल्यो विधान
योग्यताको कदर हरायो, सकियो
बढ्दै गयो निरङ्कुशताको आँकुरा
हराउँदै गयो नियम नीतिक‍ो पालना
त्यसैले,
जता पनि लाग्न थाल्यो
आफन्तै-आफन्तको बजार

चाहिन्छ जतिसुकै हुन्छ सिट खाली
टिपेर टप्प राख्यो आफन्त
अनि बजायो झुटो ताली
हरायो इमानदारीता, लुटियो नैतिकता
अस्वस्थ भयो निस्पक्षता, हुन थाल्यो अनियमितता
जताततै लाग्न थाल्यो आफन्तै-आफन्तको बजार

खै के हुन थाल्यो हाम्रो देशमा
राजनीतिदेखि अफिससम्म
सहयोगी कर्मचारीदेखि हाकिमसम्म
नियुक्ति नै कस्तो ?

भाइ बन्धु, मामा, काका, दिदी, दाजु
जेठु, सालो, साली, फुपू-फुपाजु
नाति-नातिनी, मीत-मीतिनी
नजिकको साइनो पर्ने जति सबै
चल्छ यहाँ नानाथरी
जता पनि लाग्न थाल्यो आफन्तै-आफन्तको बजार

त्यही देशको रमिते नागरिक हामी
जता पनि लाग्न थाल्यो
आफन्तै-आफन्तको बजार !

तिलक थापा
अरुण गाउँपालिका
वडा नं ७ मैदाने भोजपुर।

तपाईको प्रतिक्रिया