चन्दननाथको बहुमूल्य शङ्ख फेला

प्रकाशित मिति :  220 पटक हेरिएको

काठमाडौं । हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । ११ मङ्सिर २०७३ मा चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका- १० बोहोरा गाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

‘मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,’ प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ ।’  अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अघि बढाईएको उनले बताए ।

तीन दिनअघि पक्राउ परेका चन्दननाथ नगरपालिका- १० का स्थानीय सुशील विष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद विष्टसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

यो घटनाबाट चार वर्षअघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ । यो चार वर्षको अवधिमा १९ पुस २०७३ देपालगाउँको खोलामा १७ थान, ६ माघ २०७६ मा चन्दननाथ नगरपालिका- १ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही २० असोजमा बोहरा गाउँमा दुई थान मूर्तिहरू बेबारिसे अवस्थमा भेटिएका थिए ।

११ पुस २०७३ मा चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित २१ थान मूर्ति चोरी भएका थिए । रासस

तपाईको प्रतिक्रिया