इस्लामिक स्टेटद्वारा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

प्रकाशित मिति :  672 पटक हेरिएको

पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो ।

मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन् । शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन् । प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई अमानवीय आतङ्ककारी कार्य भन्दै निन्दा गरेका छन् । त्यो आक्रमण शनिवार अबेर राति उक्त प्रान्तको राजधानी क्वेटा नजिकैको माच सहरमा भएको हो ।

उक्त क्षेत्र अफगानिस्तानको सीमा नजिकै पर्छ । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब क्षेत्र हो । हतियारधारीहरूले ती मजदुरहरूलाई उनीहरूको सामूहिक वासस्थानबाट अपहरण गरेका थिए र नजिकैको पहाडमा लगेका थिए ।

६ जना मजदुरहरू घटनास्थलमै मारिएका थिए भने अन्य पाँच जनालाई अस्पताल लादै गर्दा बाटोमै निधन भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।

घटनापछि न्याय माग्दै पीडितका परिवारले मुख्य सडकमा शव राखेर सवारीसाधनहरू रोकिदिएका छन् । अधिकारीहरूले दोषीलाई पक्राउ गर्ने बाचा गरेका छन् । सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउने गर्छन्।

तपाईको प्रतिक्रिया