धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । नेकपाको ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोहराले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाउने भन्दै आफू ओली समूहमै रहेको घोषणा समेत गरेका छन् । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए ।
तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए। । नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट निकट मानिने बोहरा यसअघि पार्टी एकताकै पक्षमा रहेको बताउँदै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए।