काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा पनि एक तिहाइमा खुम्चिएका बताएका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी, स्थायी कमिटी सबैमा अल्पमतमा परेका ओलीको कदमकाविरुद्ध सडकमा जनताले देखाएको प्रदर्शनबाट उनी सडकमा पनि अल्पमतमा परेको स्पष्ट भएको बताएका हुन् । उनले भने, ‘केपीजीसँग केन्द्रीय कमिटी र स्थायी कमिटीमा एक तिहाइ पनि थिएन । सडकमा अलि होला भन्ने थियो तर तपाईँहरु सडकमा आएर बाउन्ने बनाइदिनु भयो अग्लो थिएँ भन्ने थियो होला त्यो पनि अब सकियो ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली स्वार्थी नेता भएको आरोप लगाए । उनले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि मात्र दुई पार्टी एकता गर्न उहाँ सहमत भएको बताए ।
उनले भने, ‘नेकपा एकताका लागि प्रस्ताव लिएर जाने म हो । सुरुमा जाँगर त देखाएका त थिएनन् तर मैले फेरि पनि वाम गठबन्धन गरेर चुनावमा जाने र प्रधानमन्त्री प्रस्ताव गर्छु भनेपछि तयार हुनुभयो । राजनीतिक स्थिरता आउँछ भनेर पाँच वर्ष सरकार चल्छ एउटै पार्टीको भनेर वाम गठबन्धन गरेका थियौं । साझा घोषणापत्रमा नेपाली जनतालाई के दिन्छौं ? किसान पेन्सनदेखि महंगी घटाउने गर्छौ । उनीहरुको जीवनमा नयाँ विहानी ल्याउछौं भन्ने थियो । विभेद असमानता घट्नेछ भन्ने अपेक्षा थियो । कर्णाली सुदूरपश्चिमलाई सौतेनीको व्यवहार गरियो भनेर । तर सबै ओलीजीका कारण हुन सकेन ।’
उनले आफू सुदूरपश्चिम कमेडी देखाउन नआएको र दुर्घटनामा परेको राजनीतिलाई कसरी ट्रयाकमा ल्याउन सकिन्छ भनेर छलफल गर्न आएको बताए । उनले प्रधानमन्त्रीले संसद विघटन गरेको भनिएपनि संविधान अनुसार संसद जिउँदै रहेको बताए । उनले सर्वोच्च अदालतमा मुद्दा नपरेको भए आफूहरुले संसद बैठक डाकेर राष्ट्रघातीहरुलाई कारबाही गरिसक्ने बताए ।
उनले अदालतले संविधानबाहिर गएर फैसला गर्ने विश्वास नरहेको बताए । प्रधानमन्त्रीले जहाँ जाँदा पनि आफूले नातागोतालाई च्यापेको भनाईप्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले छोराछोरी हुनु आफ्नो कुनै गल्ती नभएको बताए ।
उनले भने, ‘छोराछोरीलाई जनयुद्धमा लगाउनु पाप हो र ? अरुले जस्तो विदेशमा छोराछोरी पढ्न पठाएर मैले क्रान्ति गर्नुहुन्थ्यो त ? म निसन्तान भइन छोराछोरी भएपछि आन्दोलनमा लागे, जेलमा बसे, बन्दुक बोकेर हिँडने कुरा चानचुने कुरा हो ? छोरा भएपछि बुहारी, छोरी भएपछि ज्वाइँ अनि नाति नातिना हुन्छन् त्यसमा मेरो के दोष ?’