कुनै बेला शहिदद्वार निर्माण गर्ने फेसन चलेको थियो, अहिले भ्युटावरको युग आएको छ

प्रकाशित मिति :  112 पटक हेरिएको

भीम उपाध्याय ।

पहाडैपहाड र डाँडाकाँडाले भरिभराउ नेपालमा अहिले जहाँ पनि पहाड डाँडा भन्दा अग्ला संरचना बनाउने होडमा भ्युटावर निर्माणमा प्रतिष्पर्धा सुरू भएको छ । नेताहरू आफ्नो सहर वा जिल्लामा भ्युटावर नभए त ईज्जतै नरहेको ठान्न थालेका छन् । अबको ५ वर्षमा जिल्ला जिल्लामा जहाँतही अनेकौं भ्युटावर देख्न पाईने अवस्था बन्दै छ । नेपालमा पहिले ताका कुनै बेला नेताहरूको शालिकै शालिक, कुनै बेला शहिदद्वार निर्माणगर्ने फेसन चलेको थियो, अहिले भ्युटावरको युग आएको छ ।

राष्ट्रपतिको कार्यालय र निवासका निम्ति अत्याधुनिक भवन, त्यस्तै उपराष्ट्रपतिका निम्ति अफिस र निवास, प्रधानमन्त्रीका लागि हाल साँघुरो बालुवाटारमा थप अत्याधुनिक भवन, सभामुख र राष्ट्रियसभा अध्यक्षका लागि अफिस तथा निवास भवन, संघीय २५ मन्त्रीहरूका निम्ति निवास, हरिहरभवनको हालको मन्त्री क्वार्टरलाई विदेशी पाहुनाहरू राख्न सुविधासम्पन्न कम्लेक्स, ७ जना मुख्यमन्त्रीहरूका लागि प्रदेश राजधानी र काठमाडौंमा निवास, प्रदेश मन्त्रीहरू करिब १०० जनालाई निवास, ७ जना प्रदेश प्रमुखहरूलाई काठमाडौं र प्रदेश राजधानीमा निवास, ३३४ जना संघीय सांसदलाई निवास, ५५० प्रदेश सांसदलाई निवास, ७ वटा प्रदेश संसद भवन, ७ वटा मन्त्रिपरिषद परिसर (सिंहदरबारसरह) निर्माण हुनेछन् । दमकमा भ्युटावर निर्माणका लागि सहरी विकास मन्त्रालयको भवन विभागले १ अर्ब ५४ करोड ६० लाखको टेन्डर आव्हान गरेर काम गरिसकेकै छ । यसरी अबका दिनमा भवनै भवनको विकास त कति हुने हो कति !

त्यस्तै साढे ४ अर्बको सुनधारामा धरहरा, डेढ अर्बको झापा दमकमा भ्युटावर, करोडौं लागतमा काँकडभित्तामा नेपालकै सबैभन्दा ठूलो बुद्धको शालिक, विराटनगरमा ३२ अर्बको मोनोरेल, चितवनमा ३ अर्बको रंगशाला, रिंगरोडमा १ खर्बको मोनोरेल बन्दैछ वा बनाउने जोरजाम हुँदैछ । जिल्लापिच्छे करोडौंका रंगशाला, सभागृह बनाउने होडबाजी चलिरेहको छ। कसले भन्छ नेपालमा ’विकास’ भैरहेको छैन ?
अहिले नेपालको विकासको मोडेलः धमाधम भ्यूटावर, रंगशाला, धरहरा, मोनोरेल, रेल, पानीजहाज बनाउने, ठडाउने हुन पुगेको छ ।

तर, रोजगारी, उत्पादन, निर्यात, विदेशी लगानी, अस्पताल, खानेपानी, फोहरमैला, चर्पी, ढल ब्यवस्थापन, पर्यावरण संरक्षण, प्राविधिक शिक्षा, गुणस्तरीय शिक्षा, अनुसंधान, ईनोभेशन, समयसापेक्ष रोजगारीमूलक तालिम, स्वास्थ्य सुबिधा जस्ता क्षेत्र बिचरो बन्दै गएको छ ।
चुनाव जितेर मात्र विकास र समृद्धि आउने हैन। यसका लागि दिमाग, दिल र क्षमताको अधिकतम् उपयोग गर्ने र जनतालाई विकास क्रियाकलापमा साथसाथै होम्नु पर्छ। क्षमतावान व्यक्तिहरू खोजेर त्यसको जिम्मा दिनुपर्छ।

विज्ञान र प्रविधिसंग दोस्ती गास्नुपर्छ । उत्पादन बढाउदै, रोजगारी दिदै, निर्यात गरेर विदेशी पैसा कमाउनुपर्छ । धन कमाउने कुरा गफबाट सम्भव छैन, गफबाट एउटाको खल्तीको पैसा अर्कोको खल्तीमासम्म जाला, त्यति हो । लगानी भित्राउनुपर्छ। उत्पादन र उत्पादकत्व बढाउनुपर्छ । त्यसका लागि सुशासन र कानुनी शासन कायम गर्नुपर्छ । दण्डहीनता निमिट्यान्न पार्नुपर्छ । छरछिमेकीसँग दह्रो व्यापारिक सहुलियत, सुविधा आपसी सहकार्य र सहयोग आदानप्रदान गर्नुपर्छ ।

तर, देखिनेगरि प्रदेश र स्थानीय सरकारहरूले एकमात्र जनप्रिय काम भनेको भकाभक सार्वजनिक बिदा घोषणा गर्ने हुँदै गएको छ र यसमै सबैको प्रतिष्पर्धा पनि हुँदैछ । लहलहैको बिकृत विकासको मोडेल नेताहरूको आदर्श बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया