चीनमा दशौँ लाख मानिसहरू हजारौँ माइल यात्रा गरेर नयाँ वर्ष मनाउन आफ्नो घर जाने गर्छन् । कतिपयका लागि यो परिवार भेट्ने वर्षको एक मात्र अवसर हो। उनीहरू यो अवसर खेर जान दिन चाहँदैनन् । तर चाडपर्वको यो मौसम कोरोनाभाइरसको महामारी फैलाउने घटना बन्न सक्ने त्रास कायमै छ ।
चीनमा छुन च्ये भनिने यो पर्वले अघिल्लो वर्ष कोभिड–१९ को सङ्क्रमण फैलाउन उल्लेख्य भूमिका खेलेको विश्वास गरिएको छ । त्यही भएर चिनियाँ अधिकारीहरू देशको सबैभन्दा ठूलो पर्व स्थगित नगरीकनै कसरी मानिसहरूलाई स्थानीय रूपमा नै बस्न प्रोत्साहित गर्ने भन्ने समस्यामा देखिएका छन् ।
छुन च्ये जनवरी महिनाको २८ मा सुरु भएर मार्चको ८ तारिखसम्म चल्छ जसले मानिसहरूलाई फेब्रुअरी १२ मा मनाइने चिनियाँ नववर्ष मनाउन हजारौँ माइल यात्रा गरेर फेरि आफ्नै ठाउँमा फर्कन समय उपलब्ध गराउँछ । साधारण अवस्थामा चीनमा प्रत्येक वर्ष यो अवधिमा झन्डै तीन अर्ब पटक यात्रा हुन्छ । तर पोहोर कोरोनाभाइरस फैलिन थालेपछि सरकारले यात्रामा प्रतिबन्ध लगाएको थियो र यातायत मन्त्रालयको तथ्याङ्कले उक्त तथ्याङ्क आधामा झरेको देखाएको थियो ।
यो वर्ष चीनको अधिकांश क्षेत्रमा जनजीवन सामान्य भइसकेको छ र अधिकारीहरूले यो वर्ष हुने यात्राको सङ्ख्या १.७ अर्ब हुन सक्ने अपेक्षा गरेका छन् । त्यसको तयारीका लागि बेइजिङले देशको जनसङ्ख्याको साढे तीन प्रतिशत अर्थात् पाँच करोड मानिसलाई यात्राको मौसम सुरु हुनुअगाडि नै खोप दिने लक्ष्य लिएको थियो ।
तर केही समययता चीनको ग्रामीण क्षेत्रमा केही सङ्क्रमितहरू फेला पर्न थालेका छन् । पूर्वोत्तरमा रहेको जिलिन प्रान्तको थोन्ग्वामा १३ जनामा सङ्क्रमण देखिएपछि २० लाख जना भएको उक्त स्थानमा लकडाउन गरिएको छ । प्रभावित सहरहरूमा स्पष्ट सन्देश दिइएको छ– यो वर्ष वसन्तयामको चाडपर्वका बेला यात्रा गर्न पाइनेछैन ।
तर कडा लकडाउन नभएको क्षेत्रमा हुनेहरूलाई भने पनि घर जान गाह्रो हुने देखिन्छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ग्रामीण क्षेत्रमा फर्कने व्यक्तिहरूले चाडपर्वका लागि यात्रामा निस्कनुभन्दा सात दिनअघि कोभिड–१९ परीक्षणको रिपोर्ट देखाउनुपर्ने भनेको छ । त्यसबाहेक उनीहरूले १४ दिन ’घरभित्र निगरानीमा’ बस्नुपर्ने भनिएको छ। घर छोड्न पाइए पनि दैनिक रूपमा आफ्नो शरीरको तापक्रम जाँच गर्नुपर्नेछ ।
उक्त अवधिमा उनीहरूले भिड हुने ठाउँमा जान पाउनेछैनन् र प्रत्येक सात दिनमा कोभिडको जाँच गराउनुपर्नेछ । सामाजिक सञ्जालमा यी सर्तहरूबारे तत्कालै प्रतिक्रिया जनाउँदै धेरैले सहरमा काम गरेर चाडपर्वमा ग्रामीण क्षेत्रमा फर्कने आप्रवासी कामदारहरूलाई यो व्यवस्थाले नराम्रोसँग असर गर्ने बताए । यी व्यवस्थाहरूले यात्रालाई एकदमै अव्यावहारिक वा महँगो बनाउने देखिन्छ ।
तर अधिकारीहरूले चीनलाई सुरक्षित राख्न यस्तो सावधानी अपनाउनैपर्ने बताइरहेका छन् । एक जना पीएचडी गरिरहेका विद्यार्थीले बीबीसीसँग आफ्नो स्वास्थ्य ठिक भएको र गाउँका नेताले समुदायले स्वीकार गर्ने प्रमाणपत्र दिएपछि मात्रै आफू घरतर्फ जान पाएको बताए ।