ल्होछार अर्थात् नयाँ वर्ष

प्रकाशित मिति :  292 पटक हेरिएको

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन् । त्यसमा पनि नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशेषता–विधिता बोक्ने मुलुक हो ।

आउनुहोस्, सोनाम ल्होछारअन्र्तगत गोरु–वर्षमा यहाँहरुलाई स्वागत छ । सोनाम नयाँ वर्ष हर्षाेल्लासका रुपमा मनाऔं, अनि शुभकामना साटासाट गरौं ।

पहिले उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रुपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाँउथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरु खडा भएका हुन् ।

तामाङ समुदायबारे लेखिएका पुस्तकहरु अनि शोधहरु अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थ, साहसीहरुको समुदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होछार मनाउँछन् । यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीनसहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन् ।

तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छन् । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्छन् । यस समुदायमा आज छोरी–चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।

सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित तिब्बतमा मनाइने पर्वसँग मिल्दोजुल्दो छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्छन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार, तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङका अलवा अतिरिक्त यो पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातिले मनाउँछन् ।

गुरुङले मनाउने ल्होछारलाई ‘तोला ल्होछार’, तामाङ लगायतका जातिले मनाउनेलाई ‘सोनाम ल्होछार’, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपालसहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ ।

आजको दिन यी देशहरुका अधिकांश बौद्ध–विहारहरु उल्लासमय हुन्छन् । रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज बौद्ध–विहार बडो आकर्षक देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली बौद्ध–विहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्छ र असिम आनन्दको अनुभूति गराउँछ ।

आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत अनुरुप भने सोनाम ल्होछार हो । ल्होछारको महिनाभरि सबैलाई शुभकामना छ ।

सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी बुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँ र गाउँमा लामा र मुखियाको उपस्थितिमा सबैजना एकै ठाउँमा भेला भई नाच–गानसहित रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ । सुस्तरी तर वडो मधुर रुपमा गाइने सेलोका भाकामा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया–प्रेमका भावनाहरु पनि समावेश हुन्छ ।
डम्फू चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ । उनीहरु परम्परागत तामाङ पहिरनमा सजिन्छन् । उनीहरु अरु समुदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई खुल्ला हृदयले स्वागत गर्छन् ।
नकारात्मक तत्व हटाउन, आशा जगाउने सकारात्मकपन र शक्ति डाँक्न तान्त्रिक विधिअनुरुप नृत्य पनि गरिन्छ ।

लामाहरुसँग आशिष् लिएर आजको दिन वर्षभरिका लागि शुभ साइतको अपेक्षा राखिन्छ । काठमाण्डौमा टुँडिखेलबाट -याली र महोत्सव समेत गरिन्छ । महोत्सवमा तामाङ समुदायमा प्रचलित खाना, कला–संस्कृति र भेषभूषाको पनि प्रदर्शन गरिन्छन् । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामना आदान–प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।

सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरु तयार पार्दै विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन छ । समुदायका सबैजना एकै ठाउँमा भेला हुँदै सामूहिक रुपमा चाडबाड मनाइन्छ । अनि सरल, सभ्य रुपमा मिलनसार शैलीको सन्देश दिन तामाङ समुदायहरु वास्तवमै एउटा अनुकरणीय मानिन्छन् । हाम्रो पात्रो

तपाईको प्रतिक्रिया